Logo

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बक्यौता साढे १ अर्ब नाघ्यो, सरकारी कार्यालयले नै बुझाएनन् शुल्क

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बक्यौता साढे १ अर्ब नाघ्यो, सरकारी कार्यालयले नै बुझाएनन् शुल्क



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको बक्यौता रकम साढे १ अर्ब रुपैयाँभन्दा माथी पुगेको छ ।

नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वदेशी तथा विदेशी एयरलाईन्स कम्पनी, सरकारी कार्यालय, संघसंस्था लगायतले विमानस्थललाई बुझाउनु पर्ने रकम समयमै नबुझाउँदा बक्यौता रकम साढे १ अर्ब रुपैयाँ भन्दा माथी पुगेको विमानस्थलका प्रवक्ता प्रताप तिवारीले जानकारी दिए ।

विमानस्थल प्रयोग गरेवापत विमानस्थललाई एयरलाईन्स तथा सरकारी कार्यालयहरुले प्रत्येक महिना शुल्क बुझाउनु पर्दछ । तर, त्यस्ता कम्पनीहरुले लामो समय देखी शुल्क बुझाएका छैनन् । कतिपय एयरलाईन्सहरुले बन्द भएको दशौं बर्ष वितिसक्दा समेत बक्यौता रकम नबुझाएको प्रवक्ता तिवारीले बताए ।

तिवारीका अनुसार विमानस्थलले एयरलाईन्स कम्पनीहरुलाई पटक पटक ताकेता गर्दा पनि शुल्क बुझाएका छैनन् । विमानस्थललाई बुझाउनु पर्ने बक्यौता रकम सरकारी कार्यालय, संघसंस्था तथा एयरलाईन्सहरुबाट २ अर्ब ४३ करोड ३६ लाख २ हजार ४ सय ६१ रुपैयाँ रहेकोमा असोज १६ गते सम्ममा ७३ करोड ७४ लाख १८ हजार ९ सय २१ रुपैयाँ पाप्त भएको विमानस्थलले जानकारी दिएको छ ।

एयरलाईस, सरकारी कार्यालय तथा संघसंस्थाहरुले १ अर्ब ६९ करोड ६१ लाख ८३ हजार ५ सय ४० रुपैयाँ बुझाउन अझै बाकी रहेको प्रवक्ता तिवारीले जानकारी दिएका छन ।

तिवारीका अनुसार बक्यौता रकम तिर्न बाँकी रहेका मध्ये सबै भन्दा बढी नेपाल वायु सेवा निगमको रहेको छ । निगमले विलम्ब शुल्क बाहेक २९ करोड ४३ लाख ८३ हजार ८ सय ९६ रुपैयाँ बुझाउन बाँकी रहेको छ भने सबै भन्दा कम कोरियन एयरको ३८ हजार ६ सय ६८ रुपैयाँ बाकी रहेको छ ।

त्यस्तै संचालनमा रहेको तथा बन्द भईसकेको फर्मबाट २८ करोड ८९ लाख ४० हजार ८ सय ५६ रुपैयाँ रहेको छ भने सरकारी कार्यालय तथा संघसंस्थाबाट ५६ करोड ११ लाख ९७ हजार ३ सय ८९ रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL