Logo

बसको टिकट अन्यौलमै, एयरलाइन्स भने धमाधम दशैको टिकट बुकिङ गर्दै

बसको टिकट अन्यौलमै, एयरलाइन्स भने धमाधम दशैको टिकट बुकिङ गर्दै



काठमाडौं । चाडपर्वको समय नजिकिएसँगै राजधानी छाडेर आफ्नो थातथलो लाग्नेको संख्या धेरै हुन्छ । यसै समय धेरैले यात्रा गर्ने भएकोले दशैंजस्तो चाडमा पहिले नै बस तथा सवारी बुकिङ हुने गर्छ । तर यसपटक पेट्रोलियम मूल्य वृद्धिको विरोध गर्दै यातायात व्यवसायीले अहिलेसम्म टिकट बुकिङ गरेका छैनन् ।

बसको टिकट बुकिङ अन्यौलमै रहेको यो समयमा आन्तरिक हवाई सेवा प्रदायकले भने दशैको लागि धमाधम टिकट बुकिङ गरिरहेका छन् ।
सौर्य एयरलाईन्सले असोज ७ गतेबाट र नेपाल वायुसेवा निगम (नेवानी) ले भने १५ गतेबाट अग्रीम टिकट बुकिङ खुल्ला गर्ने भएको छ । यति एयरले भने भदौ अन्तिम साता देखीनै टिकट बुकिङ खुल्ला गरी सकेको जानकारी दिएको छ ।

सौर्य एयरले गत अगष्टमा बढाएको भाडादरमानै दशैंमा टिकट उपलब्ध गराउने भएको हो भने निगमले पुरानै भाडादरमा बुकिङ खुल्ला गर्ने भएको छ ।
हाल ५ स्थानमा हवाई उडान गर्दै आएको सौर्यले नेपालगञ्जको लागि १० हजार ३ सय, भैरहवाको लागि ६ हजार ४ सय, भद्रपूरको लागि ९ हजार ४ सय टिकटदर कायम गरेको काठमाडौं एयरपोर्ट प्रवन्धक विनोद मिश्रले जानकारी दिएका छन ।

दैनिक ५० उडान गरिरहेको बुद्ध एयरका मार्केटिङ म्यानेजर रुपेश जोशीले भने दशैंको लागि नै भनेर टिकट बुकिङ खुल्ला नहुने जानकारी दिएका छन । ‘विगतमा झै यसपटक पनि हामीले दशैंमा बुकिङ खुल्ला गर्दैनौ, बुकिङ गर्नेले यसपालीको दशैंमा मात्र नभएर अर्को दशैंको लागि पनि बुकिङ गर्न सक्छ’ उनले भने ।

श्री एयरलाईन्स, तारा एयरलाईन्स तथा सिम्रीकले पनि दशैं केन्द्रित गरेर बुकिङ खुल्ला नगर्ने जानकारी दिएको छ । दशैंको लागि भनेर बुकिङ खुल्ला नहुने तर नर्मल बुकिङ भने खुल्लानै रहने एयरलाईन्सहरुले जानकारी दिएको छ ।

सिम्रीक एयरले भने दशैं केन्द्रित बुकिङ नगर्ने भए पनि दशैंको समयमा भईरहेको विमानबाटै थप उडान भने गर्ने भएको छ । हाल १० वटा उडान गर्दै आएको सिम्रीकले सो समयमा भने थप ४ वटा उडान गर्ने मार्केटिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिएका छन ।

उनका अनुसार पोखरा, भैरहवा, विराटनगर उडान गर्दै आएको सिम्रीकले असोज अन्तिमबाट संखुवासभाको तुम्लिङटारबाट समेत नियमित उडान गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL