Logo

क्षमता विस्तार गर्दै मनकामना केबलकार, ल्यायो यात्रु ओसार्ने ३ नया डब्बा

क्षमता विस्तार गर्दै मनकामना केबलकार, ल्यायो यात्रु ओसार्ने ३ नया डब्बा



काठमाडौं । नेपालकै पहिलो केबलकार कम्पनी मनकामना दर्शन प्रालिले केबलकारको क्षमता विस्तार गर्ने भएको छ ।
यात्रुको चाप बढ्दै गएपछि कम्पनीले डब्बा (गोन्डला) थप गरेर क्षमता बढाउन लागेको हो ।

‘बढ्दो यात्रु चापलाई सम्बोधन गर्न तीनवटा डब्बा थप्ने तयारीमा छौं,’ कम्पनी सञ्चालक राजेशबाबु श्रेष्ठले भने, ‘क्षमता विस्तारपछि दैनिक थप १ हजार यात्रुलाई सेवा दिन सकिन्छ ।’

२० वर्षअघि सन् १९९८ मा सेवा सुरु गरेको मनकामना केबलकारले हाल ३१ वटा डब्बाबाट चितवनको चेरेसदेखि गोरखाको मनकामना मन्दिरसम्म यात्रु ओसारपसार गरिरहेको छ । यसमा सामान ओसार्ने ३० र यात्रु ओसार्ने एउटा डब्बा छ ।

क्षमता विस्तारपछि कुल डब्बा संख्या ३४ पुग्नेछ । थप गरिने ३ वटै डब्बा यात्रुका लागि हुन् । हालको क्षमतामा मनकामना केबलकारले प्रतिघन्टा ६ सय यात्रु ओसारपसार गर्न सक्छ । अहिले यसको दैनिक यात्रु क्षमता ४ हजार ८ सय छ । डब्बा थप गरेपछि दैनिक ५ हजार ८ सय यात्रुलाई सेवा दिन सकिने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

चितवन को–ई समूह अन्तर्गतको मनकामना दर्शन प्रालिले वार्षिक १० लाखभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ । क्षमता विस्तारपछि १३ देखि १४ लाख यात्रुलाई सेवा दिन सकिने कम्पनीको भनाइ छ ।

कम्पनीले केबलकारमा थप्न लागेको डब्बा कुरिनटारस्थित बटम स्टेसनमा आइसकेको छ । कम्पनीले अस्ट्रियाको डोपलमेयर कम्पनीबाट डब्बा आयात गरेको हो ।

क्षमता विस्तारका लागि कम्पनीले एक करोडभन्दा बढी लगानी गरेको श्रेष्ठले जानकारी दिए । चितवनको चेरेसस्थित केबलकार बटम स्टेसन र मनकामनास्थित टप स्टेसनबीचको दुरी ३ दशमलव १३ किलोमिटर छ । केबलकारमा उक्त दुरी पार गर्न ८ देखि १० मिनेट लाग्छ । केबलकार सञ्चालनमा आउनुअघि हिँडेर पनि हजारौं यात्रु बर्सेनि प्रशिद्ध देवी मनकामनाको दर्शन गर्न पुग्थे ।

केबलकार सञ्चालनसँगै बृद्धबृद्धा, अशक्त र शारीरिक रुपमा कमजोर व्यक्तिहरु पनि सजिलै मनकामना पुग्न थालेको स्थानीय बताउँछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL