Logo

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य १५ प्रतिशत सम्पन्न, २०२१ जुलाई देखी उडान भर्ने

पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य १५ प्रतिशत सम्पन्न, २०२१ जुलाई देखी उडान भर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै कामलाई तिब्र बनाउन निर्देशन दिएका छन ।

प्रम ओलीले बिहीबार पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गरी निर्देशन दिएको हो ।

नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजनाको रुपमा निर्माण कार्य अघि बढाएको क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको काम करिब १५ प्रतिशत सम्पन्न भएको आयोजनाका निर्देशक प्रदीप अधिकारीले बताएका छन ।

अधिकारीका अनुसार सन २०१९ को अन्त्यमा ५५ प्रतिशत काम सम्पन्न गर्ने र २०२१ को जुन सम्ममा निर्माणकार्य सम्पन्न गरी सन २०२१ जुलाई देखि हवाई सेवा सञ्चालन गर्ने गरी कामलाई अगाडी बढाएको जानकारी दिएका छन ।

प्रम ओलीले पोखरा विमानस्थलमा अन्तरराष्ट्रिय वायुयान कम्पनीले वेस राखी हवाई सेवा सञ्चालन गर्न रुची देखाएको हुँदा सो वमोजिम ह्याङ्गर, अफिस, ईक्युपमेन्टका लागि आवश्यक जग्गा प्राप्तीको प्रकृया तत्काल अघि बढाउन निर्देशन दिएका छन ।

प्रम ओलीले पोखरा पर्यटकीय दृष्टिकोणले नेपालको अत्यन्त महत्वपूर्ण स्थान भएको हुँदा पोखरा विमानस्थलको निर्माणसंगै नेपालको पर्यटकीय गतिविधिमा विस्तार तथा यसबाट आर्थिक बृद्धिमा योगदान पुगी समृद्ध नेपाल सुखी नेपालीको हाम्रो अभियानले सफलता पाउने बताएका छन ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले विमानस्थल निर्माण कार्य तोकिएको समयमा नै सम्पन्न हुने प्रतिवद्धता ब्यक्त गरेका छन ।

विमानस्थल निर्माणसंगै बृद्धि हुने आर्थिक तथा अन्य कृयाकलाप समेतका लागि अन्य मन्त्रालयहरुबाट समेत पहुँच मार्गहरुको स्तरोन्नति, बस्ति विकास लगायतका कार्यहरु अघि बढाउनु पर्ने मन्त्री अधिकारीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL