Logo

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान, ३ सय गाउँलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गर्ने

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान, ३ सय गाउँलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गर्ने


रासस
0
Shares

काठमाडौं । प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको छ ।

सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्तुत गर्दै पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट पटकपटक मात्र होइन धेरै पटक यस प्रदेशमा पर्यटक आउने वातावरणको सिर्जना गरिने बताएका छन ।

गुणस्तरीय सेवा र नयाँ पर्यटकीय गन्तव्यको विकास गरी पर्यटकको बसाई अवधिमा वृद्धि गरिने बताए । सरकारले पर्यटन क्षेत्रको एकीकृत विकास गर्न स्पष्ट कार्ययोजना र लागत सहितको पर्यटन गुरुयोजना तयार गर्न एक करोड रुपैयाँ छुट्याएको उनले जानकारी दिएको छ ।

ग्रामीण पर्यटन प्रवद्र्धनको सोचका साथ ३ सय गाउँलाई नमूना पर्यटकीय गाउँको रुपमा विकास गर्न होमस्टे पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि ३० करोड विनियोजन गरिएको छ ।

प्रदेश नं. ४ ग्रामीण पर्यटनका दृष्टिले धेरै सम्भावना भएको ठाउँ भएको बताउने ग्रामीण पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) प्रदेश नं ४ का अध्यक्ष रवीन्द्रराज पौडेलले बजेटमा ग्रामीण पर्यटनको विकासलाई प्राथमिकतामा राखिनु सकारात्मक भएको बताएका छन ।

पर्यटनको विकासका लागि सरकारले देखाएको तदारुकता कार्यान्वयनमा कसरी अघि बढ्छ भन्ने विषय भने पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । सरकारले प्रदेशमा नयाँ पदमार्गको निर्माण, मर्मत सुधार, सौन्दर्यकरण र सूचना केन्द्रसमेतका लागि ६ करोड रुपैयाँ छुट्याएको छ ।

अन्नपूर्ण चक्रीय पदमार्गलगायतका कारण वर्षेनी ठूलो संख्यामा पदयात्राका लागि यस प्रदेशमा विदेशी पर्यटक आउने गरेको नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पशिमाञ्चल क्षेत्रीय संघका सचिव सुशीलराज पौडेल बताए ।

सरकारले बजेटमा नै पदयात्रालाई जोडेर रकम विनियोजन गर्नु पदयात्रा पर्यटनका लागि सन्तोषको विषय भएको बताउँदै उनले यसले समग्र पदयात्रा पर्यटनको विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताएका हुन ।

बजेट वक्तव्यमा निजी क्षेत्रसँगको सहकार्यमा फेवाताललाई सौन्दर्यकरण र पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मल्टीमिडिया म्युजिकल फाउन्टेन, ड्यामसाइडदेखि शान्ति स्तुपसम्म क्यानोपी वाक र वाटरलेभलमा ग्लासब्रिज निर्माणको विस्तृत आयोजना प्रतिवेदन तयारका लागि ८ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

सरकारद्वारा पर्यटन क्षेत्रमा विनियोजित रकम तथा प्राथमिकताले पर्यटन व्यवसायीमा उत्साह थपेको पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले बताएका छन ।

सरकारले सहासिक खेल पर्यटनको विकास विस्तार, मुस्ताङ, मनाङ, चुम–ब्रिलाइ अन्तरराष्ट्रियस्तरको फिल्म सुटिङस्थलका रुपमा विकास गर्नेलगायतका योजनालाई बजेट वक्तव्यमा उल्लेख गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL