Logo

एक महिना भित्र चिनियाँ पाईलट नेपाल आउने, अफ्रिका र दक्षिण अमेरिकाबाट पनि पाईलट ल्याउने निगमको तयारी

एक महिना भित्र चिनियाँ पाईलट नेपाल आउने, अफ्रिका र दक्षिण अमेरिकाबाट पनि पाईलट ल्याउने निगमको तयारी


रासस
27
Shares

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले ३ जना चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । वाइ–१२ सिरिजका विमान उडाउनका लागि निगमले अंग्रेजी बोल्न जान्ने पाइलट ल्याउन लागेको हो ।

मासिक प्रति पाइलट ८ हजार रुपैंया अमेरिकी डलर तलब सुविधा दिने गरी ३ पाइलट ल्याउन लागिएको निगमले जनाएको छ । वाइ १२ विमान उडाउन सक्ने ३ चिनियाँ पाइलट ल्याउने प्रक्रियामा रहेको र अन्य मुलुकबाट पनि पाइलट ल्याउन पहल भइरहेको निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारले जानकारी दिएका छन ।

उनका अनुसार चीनका अलवा अफ्रिका र दक्षिण अमेरिकाबाट पनि वाइ १२ उडाउने पाइलट ल्याउने प्रक्रिया अघि बढेको छ । अफ्रिका र दक्षिण अमेरिकामा पनि वाइ १२ चलाउने पाइलट पाइन्छ भन्ने जानकारीका आधारमा त्यहाँ खोजी भएको हो । एक÷दुई जना पाइलट त्यहाँबाट पनि ल्याउने प्रक्रियामा छौँ, अहिले उनीहरुको लाइसेन्स र बायोडाटा मगाएका छौँ, महाप्रबन्धक कंशाकारले भने ।

चिनियाँ पाइलटको भने लाइसेन्स ल्याएर नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमतिका लागि कागजपत्र बुझाइएको छ । छोटो अवधिका लागि करारमा चिनियाँ पाइलट ल्यउन लागिएको हो । नेपाली पाइलट तयार भए पछि उनीहरुलाई फर्काइनेछ । लामो समयसम्म उनीहरुलाई राख्दा खर्चभार महँगो हुने भएकाले नेपाली पाइलट तयार नभएसम्म मात्र चिनियाँ पाइलट राखिनेछ ।

चिनियाँ पाइलट सबै प्रक्रिया पूरा गरेपछि अबको एक महिनाभित्र आइपुग्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले बताएका छन । श्रेष्ठका अनुसार ‘चिनियाँ पाइलट ल्याउने प्रक्रिया अन्तिम चरणमा छ, अबको एक महिनाभित्र ती पाइलट नेपाल आउनेछन’, । अहिले निगमका नेपाली पाइलटले ६ देखि ८ लाख रुपैंया तलब पाउने गरेका छन । निगममा लामो समयदेखि पाइलट अभाव छ । अभाव पूर्ति गर्न हालै ४३ जना पाइलटको माग गरेकामा जम्मा ११ जनाको मात्र निवेदन परेको निगमले जनाएको छ ।

आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ विमान उडाउन समस्या भएपछि निगमले सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न विमान उडानका लागि पाइलट करारमा राख्न आवेदन मागेको थियो । हालैमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले चीनबाट ल्याइएका सबै विमान ३ महिनाभित्र उडाउन निर्देशन दिईएको थियो । चिनियाँ विमान निगमलाई हस्तान्तरण गर्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित समारोहमा मन्त्री अधिकारीले ३ महिनाभित्र उडाउन निर्देशन दिएको हो ।

निगमका पदाधिकारीले सकेसम्म उक्त अवधिमा विमान उडाउन प्रयास गरिने बताएका थिए । तर अहिलेसम्म पनि पाइलटको टुंगो लागेको छैन । निगममा रहेका ४ वटा वाइ १२ विमान उडाउन सक्ने २ जना मात्रै पाइलट छन । बाँकी २ वाइ १२ विमान चल्न सकेका छैनन ।

निगमका पुराना ३ सहित ९ वटा विमान आन्तरिक उडानका लागि छन भने अन्तरराष्ट्रियतर्फ १ बोइङ र २ एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । हाल निगमले देशका विभिन्न २३ गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL