Logo

विमानको भग्नावशेषलाई संग्रहालयको स्वरुप दिंदै, नागरिक उड्डयन

विमानको भग्नावशेषलाई संग्रहालयको स्वरुप दिंदै, नागरिक उड्डयन


रासस
189
Shares

काठमाडौं । विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमानलाई यतिखेर काठमाडौँमा ‘एभिएसन म्युजियम’ का रुपमा राखिएको छ ।

त्यस्तै, कस्मिक एयरको ग्राउण्डेड विमान कैलालीको धनगढीमा ‘एयरक्राफ्ट म्युजियम’ का रुपमा सञ्चालन भइरहेको छ । प्रजातन्त्र स्थापनाको अभियानका क्रममा नेपाली काँग्रेसले अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान विसं २०७० फागुन ४ गते अर्घाखाँचीमा दुर्घटना भएको थियो ।

उक्त विमानको भग्नावशेषलाई पुनः विमानको स्वरुप दिएर हाल बिपी संग्रहालयमा प्रदर्शनीमा राखिएको छ । नेपालको ६८ वर्ष लामो हवाई सेवाको इतिहासमा अहिलेसम्म ८४ वटा विमान दुर्घटना भएका छन । त्यसमध्ये आन्तरिक उडान गर्ने विमान ४६ र हेलिकप्टर ३१ तथा अन्तर्राष्ट्रिय उडानका ७ जहाज दुर्घटना भएका हुन ।

हवाई क्षेत्रको विश्वव्यापी मान्यताअनुसार दुर्घटनामा परेका विमान व्यवस्थापनको सम्पूर्ण जिम्मा सम्बन्धित बीमा कम्पनीको हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का उपमहानिर्देशक राजन पोखरेल बताएका छन । सम्बन्धित बीमा कम्पनीले दुर्घटनामा परेको विमान कम्पनीलाई विमानको मूल्याङकन गरेर क्षतिपूर्ति तिर्छ ।

दुर्घटनामा परेको विमान सामान्य मर्मत गरी सञ्चालन हुने अवस्थामा भने सम्बन्धित विमान कम्पनीले लैजाने र अन्य अवस्थामा बीमा कम्पनीले नै जिम्मा लिने गरेका छन । काम नलाग्ने पार्टपुर्जा कबाडीमा बेचिन्छ । दुर्घटनाका क्रममा अग्नि नियन्त्रणमा लिने वस्तु प्रयोग गरेका विमानका प्रायः कुनै पनि पार्टपूर्जा काम नलाग्ने यस क्षेत्रका विज्ञको भनाइ छ ।

विमानका कुनै काम लाग्ने पार्टपूर्जा र इन्जिन सम्बन्धित विमान कम्पनीले लैजानुपरे बीमा कम्पनीको स्वीकृति अनिवार्य लिनुपर्ने प्रावधान रहेको क्यानका पूर्व महानिर्देशक राजेशराज दलीले बताए ।

२०७४ फागुन २८ गते त्रिभुवन विमानस्थल परिसरमा दुर्घटना भएको युएस बंगला विमानको भग्नावशेष यतिखेर दुर्घटनास्थलमै अलपत्र अवस्थामा छ । दुर्घटनाको छानविन गर्न गठित समितिले आफ्नो छानविन प्रतिवेदन नबुझाएसम्म उक्त विमानको भग्नावशेष उठाउन नमिल्ने विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरको भनाइ छ ।

त्यस्तै, लामो समयदेखि विभिन्न स्थानमा बिग्रिएर थन्किएका पुराना विमान पनि विमानस्थलले हालै व्यवस्थापन गरेको जनाएको छ । नेपालमा हाल हेलिकप्टरसहित १८ वायु सेवा कम्पनीले सेवा प्रदान गरिरहेका छन । अन्तर्राष्ट्रियतर्फ २ स्वदेशीसहित ३० वायु सेवा कम्पनीले सेवा प्रदान गरिरहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL