Logo

१२ सय होटल तथा रेष्टुराँ संचालनमा, १ सय निर्माणाधिन

१२ सय होटल तथा रेष्टुराँ संचालनमा, १ सय निर्माणाधिन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमा राजनीतिक स्थिरता र व्यवसायको वातावरण बन्दै जाँदा पर्यटन व्यवसायीहरुको मनोवल पनि बढेको देखिन्छ । पछिल्लो समय नेपालमा खुलेका होटल तथा रेष्टुराँको संख्याले यस्तो देखाएको हो ।

पर्यटन विभागको पछिल्लो तथ्यांक अनुसार हाल नेपालमा १ हजार २ सयभन्दा बढी होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यस्ता होटलहरुमा ‘बेड’ संख्या ४२ हजार पुगेको छ ।

त्यसो त १ सयभन्दा बढी होटल रेष्टुराँ तथा रिसोर्ट निर्माणाधिन अवस्थामा रहेको विभागले जानकारी दिएको छ । विभागका अनुसार सन् २०१७ मा मात्र ३ ओटा तिनतारे होटल सञ्चालनमा आएका छन् । थपिएका ३ तारे होटलमा म्यारिओट, मलबेरी र सामाना होटल हुन् । जसमध्ये ठमेलमा सञ्चालित म्यारिओटको १ सय १५ कोठाको छ भने ठमेलकै मलबेरी होटलमा ६३ कोठाको छन् ।

त्यसैगरी हेटौँडाको ६० कोठाको सामना होटल पनि २०१७ मा नै सञ्चालनमा आएको हो । यससँगै नेपालमा सन् २०१७ सञ्चालनमा आएका होटलको संख्या ३४ पुगेको विभागले जानकारी दिएको छ । त्यसैगरी गत बर्ष २३ वटा पर्यटकस्तरका होटल र दुईतारे होटल ४३ ओटा पुगेका छन् ।

पछिल्लो समय होटलको संख्यामा मात्र नभइ पर्यटक आवागमनमा पनि बृद्धि भएको देखिन्छ । सन् २०१७ मा ९ लाख ६४ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए । जुन सन् २०१६ को भन्दा २ लाखले बढी हो । २०१६ मा ७ लाख ५३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
त्यसो त पर्यटन मन्त्रालय तथा विभागले २०१८ मा अझ धेरै पर्यटक तान्ने उद्देश्यसहित ‘डिजिटल क्याम्पेनिङ’ शुरु गरेको छ ।

त्यस्तै सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम अघि सारेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL