Logo

कमाइ कम हुँदा विमानस्थल सञ्चालन खर्च धान्नै समस्या

कमाइ कम हुँदा विमानस्थल सञ्चालन खर्च धान्नै समस्या


बिजखबर संवाददाता
0
Shares

रमेश लम्साल/सिबी अधिकारी

काठमाडौं । नेपालका अधिकांश विमानस्थललाई सञ्चालन खर्च धान्न समेत धौधौ परेको छ । विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउन नपुग्ने अवस्था आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार हाल नेपालमा जम्मा २९ ओटा विमानस्थल सञ्चालनमा छन् । ती मध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ  करोडभन्दा माथि छ ।

सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाइ नै कमजोर देखिएको हो ।

सञ्चालनमा नै रहेका विमानस्थलको कमाइ न्यून हुँदा सरकारलाई ती विमानस्थल सेतो हात्तीका रुपमा पालिराख्नुपर्ने बाध्यता आएको सरोकारवालाहरु बताउँछन् ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको कमाइले नै अधिकांश विमानस्थल सञ्चालन गर्नुपर्ने र अन्य कामसमेत गर्नुपर्ने अवस्था देखिएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदन अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले रु ६ अर्ब ६२ करोड ८१ लाख आम्दानी गरेको छ ।

चन्द्रगढी विमानस्थलले रु २ करोड १९ लाख ६० हजार विराटनगर विमानस्थलले रु ५ करोड ६४ लाख ७७ हजार, तेन्जिङ हिलारी विमानस्थलले रु १ करोड ८६ लाख ९८ हजार, सिमराले रु १ करोड २३ लाख ३९ हजार र भरतपुर विमानस्थलले रु २ करोड, ३८ लाख १४ हजार १४ हजार कमाइ गरेका छन् ।

त्यसैगरी पोखरा विमानस्थलले रु ६ करोड ३९ लाख १९ हजार, गौतमबुद्ध विमानस्थलले रु ३ करोड ७३ लाख, नेपालगञ्ज विमानस्थलले रु ४ करोड ५६ लाख ९६ हजार, सिमीकोटले रु १ करोड, ५४ हजार ११४, धनगढी विमानस्थलले रु १ करोड २१ लाख ११ हजार कमाइ गरेका छन् ।

प्राधिकरणका अनुसार थामखर्क विमानस्थलले रु १४ हजार ३४६ मात्रै कमाइ गरेको छ । चितवनको मेघौली विमानस्थलले रु २१ हजार ९७७ कमाइ गरेको छ । लामो समयदेखि व्यस्त मानिने जुम्ला विमानस्थलको कमाइ पनि रु ८ लाख ७६ हजार मात्रै कमाइ गरेको छ ।

भोजपुर विमानस्थलले रु १२ लाख कमाइ गर्दा लामीडाँडा विमानस्थलले भने रु ८६ हजारमात्रै आम्दानी गरेको छ । व्यस्त रहने जनकपुर विमानस्थलको कमाइसमेत रु ६१ लाखमा सीमित भएको छ ।

रामेछाप विमानस्थलको रु ५ लाख ४० हजार, तुम्लिङ्टार विमानस्थलको रु २२ लाख २० हजार, रुम्जाटारले रु १ लाख २८ हजार मात्रै आम्दानी छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले अन्तरराष्ट्रिय विमानस्थल र अरु केही विमानस्थलमात्रै सञ्चालन नाफामा रहेको र धेरैजसो विमानस्थल घाटाको व्यापार गरिरहेको बताए ।

अन्तरराष्ट्रिय विमानस्थलको कमाइले मात्रै अरु विमानस्थल सञ्चालन गर्नुपरेको छ । त्यसले आर्थिक रुपमा समेत असन्तुलन कायम गरेको छ’ उनले भने ।

विमानस्थल निर्माणको माग बढ्दै गएको र सञ्चालनमा समेत घाटा व्यहोर्नुपरेपछि प्राधिकरण पनि के गर्ने भन्ने मेसो पाउन सकेको छैन । राजनीतिक दबाबका आधारमा निर्माण हुने र सञ्चालन गर्नुपर्ने बाध्यतालाई प्राधिकरणले नकार्न सकेको छैन ।

प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पूँजीगत लगानीका आधारमा सञ्चालनमा रहेका धेरै विमानस्थलले नाफा कमाउने सम्भावना नरहेको बताए ।

उनले भने ‘कतिपय विमानस्थल सामाजिक उत्तरदायित्वका हिसाबले मात्रै चलिरहेका छन् । नाफाभन्दा पनि सेवामूलक ढंगले मात्रै चलिरहेका छन् ।’ सरकारले जनतालाई सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याएका विमानस्थलको दायित्वसमेत प्राधिकरणको काँधमा रहेको उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL