Logo

सिन्धुपाल्चोकको दुर्गम गाउँ चेपेडाँडामा टेलिकमको जिएसएम सेवा,४ हजार प्रयोगकर्ता लाभान्वित

सिन्धुपाल्चोकको दुर्गम गाउँ चेपेडाँडामा टेलिकमको जिएसएम सेवा,४ हजार प्रयोगकर्ता लाभान्वित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोक जिल्लाको अति दुर्गम चेपेडाँडास्थित जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराउन थालेको छ । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको टेलिकमले जानकारी दिएको छ । यस अघि ती स्थानमा सिडिएमए प्रविधिका मोबाइल मात्र सञ्चालनमा थिए ।

चेपेडाँडाको बिटिएस साइट सञ्चालन पश्चात सिन्धुपाल्चोक जिल्लाका साविकका सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवाको पहुँच विस्तार भएको छ ।

यो क्षेत्रमा पहिले देखि नै करिब ४ हजार ग्राहकहरुले सिडिएमए प्रविधिको फोन सेवा उपभोग गरिरहेकोमा अब जिएसएम मोबाइलको पहुँच विस्तार पश्चात् थप सेवाग्राहीहरु पनि लाभान्वित हुने प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् । सो क्षेत्रका वासिन्दाले जिएसएम मोबाइलबाट डाटा सेवा चलाउन र फोन गर्न समेत सक्ने छन् ।

गोल्चे र गुम्बा गाविस चीनको सीमानासम्म जोडिएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL