Logo

गौतम बुद्ध विमानस्थलको रनवे सवग्रेड शुरु, २६ प्रतिशत काम सम्पन्न

गौतम बुद्ध विमानस्थलको रनवे सवग्रेड शुरु, २६ प्रतिशत काम सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा रनवे सवग्रेड निर्माणकार्य शुरु गरिएको छ । ३ सय मिटर लम्वाईको कच्ची धावनमार्ग तयार गरी सो स्थानमा सवग्रेडको काम शुरु गरिएको विमानस्थलका परियोजना प्रमुख ओम शर्माले जानकारी दिए । ‘अब सव वेस, वेस र कंक्रिट राखेपछि रनवे निर्माण पुरा हुन्छ ।’

त्यस्तै नदीजन्य निर्माण सामग्री ल्याउने क्रम पनि जारी रहेको उनले जानकारी दिए । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलमा जमिनमुनीको सवै काम सकिएको छ । टर्मिनलमा जमीन माथीको काम मात्र बाँकी रहेको उनले बताए ।

शर्माका अनुसार विमानस्थल स्तरोन्नतीका लागि थप ५ सय विघा जमिन अधिग्रहण समेत शुरु गरिएको छ । जसअनुसार मुआव्जा १ महिनाभित्र निर्धारण गरिने छ । मुआव्जाका विषयमा सर्वदलीय बैठक र स्थानीयहरुसँग छलफल जारी छ ।

त्यसैगरी त्यहाँका विस्थापित ३ सय २० घर परिवारलाई विमानस्थल नजिकै पूर्नस्थापनाको व्यवस्था गर्न लागिएको समेत उनले जानकारी दिए । सो विमानस्थल २०१७ जुनमा सकिने तथा २०१८ को जनवरीदेखि सञ्चालनमा आउने भनिएको थियो । तर भारतीय नाकाबन्दी तथा भुकम्पलगायतले काममा ढिलाई हुने भएको छ ।

विमानस्थल निर्माणका लागि करीव ८ अर्व ५५ करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको छ । एशियाली बिकाश बैंकको आर्थिक सहयोगमा चिनीँया कम्पनी नर्थ वेष्ट सिभिल एभियसन एयरपोर्ट कंस्ट्रक्सनले विमानस्थल निर्माण गरिरहेको छ ।

सो विमानस्थलमा ६ ओटा अन्तरराष्ट्रिय र चारवटा आन्तरिक उडानका जहाज पार्क गर्न सकिने सुविधा हुनेछ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टीआईए) को वैकल्पिक विमानस्थलको रुपमा सो विमानस्थल निर्माण गर्न लागिएको हो । गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएसँगै अहिले टीआईएमा अवतरण गरिरहेका सबै जहाज अवतरण गर्न सक्ने उनले जानकारी दिए छ ।

स्तरोन्नतीसँगै टिआईए व्यस्त भएर कतिपय समयमा अन्तरराष्ट्रिय विमानहरु भारतमा लगेर ल्याण्ड गर्नुपर्ने बाध्यता बाध्यता हट्ने छ । गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि टिआईएबाट हाल अवतरण भइरहेकामध्ये १० प्रतिशत जहाज अवतरण गर्ने अनुमान गरिएको छ ।

त्यसैगरी जिल्लाबाट वैदेशिक रोजगारीमा जानका लागि काठमाडौंसम्म धाउनुपर्ने बाध्यता हट्नेछ भने लुम्बिनी भ्रमण गर्न आउन चाहने पर्यटकपनि सिधै जान सक्नेछन् ।

यसैबीच बिहीवार पर्यटनमन्त्री जीवनबहादुर शाहीले विमानस्थलको काम छिटो सक्न निर्देश्न समेत दिएका छन् । उनले विमानस्थल निर्माणको स्थलगत अनुगमन गर्दै उनले सो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL