Logo

पर्यटन मन्त्रालयको सिफारिस : साउन २१ देखि आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई सेवा सच्चालन गर्न सकिने

पर्यटन मन्त्रालयको सिफारिस : साउन २१ देखि आन्तरिक र भदौ १ देखि अन्तर्राष्ट्रिय हवाई सेवा सच्चालन गर्न सकिने



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २१ देखि आन्तरिकतर्फ र भदौ १ देखि अन्तर्राष्ट्रियतर्फको पनि हवाई सेवा खुलाउन उच्चस्तरीय समितिलाई सिफारिस गरेको छ ।

laxmi

मन्त्रालयले सहसचिव बुद्धिसागर लामिछानेको संयोकजत्वमा गठित समितिले दिएको सुझावअनुसारै उच्चस्तरीय समितिलाई सिफारिस गरिएको हो । पर्यटनमन्त्री योगेश भट्टराईले पनि हवाई सेवा सञ्चालनका लागि तयार भएको बताइसकेका छन् ।

विमानस्थल खुलाउनुअघि सुरक्षा मापदण्डसम्बन्धी प्रोटोकल नागरिक उड्डयन प्राधिकरणले ल्याइसकेको छ । विमानस्थल सञ्‍चालनका लागि प्राधिकरणले विमान यात्रु, विमान कम्पनी, कर्मचारी, विमानस्थलका लागि सुरक्षाको मापदण्ड अपनाउन निर्देशिका जारी गरिसकेको छ । उक्त निर्देशिकाअनुसार कोभिड १९ संक्रमणबाट बच्‍न सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, स्यानिटाइजरको प्रयोग गर्ने, यात्रुको स्वास्थ्य स्थितिबारे जानकारी गराउन फर्म भर्नुपर्नेलगायत व्यवस्था गरिएको छ ।

प्राधिकरणको निर्देशिकाअनुसार ज्वरो, खोकी, श्‍वासप्रश्‍वासमा समस्या भएका, स्वाद तथा गन्ध थाहा नपाउने व्यक्तिले विमानमा यात्रा गर्न पाउने छैनन् । ३८ डिग्री सेल्सियस वा १००.४ डिग्री फारेनहाइट वा सोभन्दा माथि तापक्रम भएका व्यक्तिले पनि विमानमा यात्रा गर्न पाउने छैनन् । यस्तै विमानस्थलमा प्रवेश गरेदेखि गन्तव्यमा नपुगेसम्म मेडिकल मास्कको प्रयोग गरिरहुनुपर्नेछ । मेडिकल मास्क प्रयोग नगर्नेलाई विमानस्थल प्रवेश गर्न नदिन प्राधिकरणले निर्देशन गरेको छ ।

विमानस्थलमा अत्यावश्यकबाहेक अन्यलाई ट्रली प्रयोग गर्नमा पनि बन्देज लगाइनेछ । प्राधिकरणले जारी गरेको निर्देशिकामा ७० वर्षमाथिका वृद्धवृद्धा, गर्भवती एवं गम्भीर स्वास्थ्य समस्या भएकालाई सकेसम्म यात्रा नगराउन एयरलाइन्स अपरेटरहरुलाई निर्देशन दिइएको छ । ७० वर्षमाथिका, गर्भवती महिलामा संक्रमणको सम्भावना धेरै हुने भएकाले त्यस्तो व्यवस्था गरिएको प्राधिकरणका एक कर्मचारीले बताए । विमानमा घरपालुवा जनावरलाई यात्रा गराउन पाइने छैन ।

विमान सेवा दिँदा विमानभित्र पनि सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले विमान कम्पनीहरुले शतप्रतिशत क्षमतामा यात्रु उडाउन पाउने छैनन् । ती अधिकारीका अनुसार विमान कम्पनीले ५०र६० प्रतिशत क्षमतामा मात्रै हवाई सेवा दिनुपर्नेछ ।

प्राधिकरणले जारी गरेको यो निर्देशिक आन्तरिक तथा बाह्‍य दुवै तर्फको उडान सेवा, ग्राउन्ड ह्‍यान्डलिङ कर्मचारी, एयरलाइन्स अपरेटर, विमानस्थलका कर्मचारी सबैका लागि रहेको जनाएको छ । निर्देशिकामा विमानस्थल प्रवेश गर्दादेखि गन्तव्यबाट नबाहिरिँदासम्म पालना गर्नुपर्ने नियम समावेश छ । सरकारले गत चैत ११ देखि लकडाउन लागु गरेदेखि चार्टर्ड उडानबाहेक हवाई सेवा बन्द छ ।

प्रतिक्रिया दिनुहोस्
MBL