Logo

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न, तोकिएको मितिभन्दा छ महिनाअघि परीक्षण उडान शुरु गर्ने लक्ष्य

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ६० प्रतिशत काम सम्पन्न, तोकिएको मितिभन्दा छ महिनाअघि परीक्षण उडान शुरु गर्ने लक्ष्य



काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुन अब एक वर्ष समय बाँकी रहँदा आधाभन्दा बढी काम पूरा भएको हो ।

रु २२ अर्ब लागतमा सन् २०२१ जुलाई १० भित्रमा निर्माण सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सीएएमसी इञ्जीनियरिङले विसं २०७४ असारदेखि विमानस्थलको काम शुरु गरेकामा हालसम्म दुई हजार ५०० मिटर लामो धावनमार्ग ९रनवे०, आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटिसी) भवनलगायत विभिन्न १४ भवनको सिभिलतर्फको काम सम्पन्न भएको बताइन्छ ।

त्यसैगरी भवन, ह्याङ्गर, पार्किङ, सडक, नालालगायत आयोजनाको हालसम्म समग्रमा ६० प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए ।

टर्मिनल भवनलगायतका भवनको फिनिसिङ, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, भवनमा आल्मुनियम प्लेट, टायल राख्ने, सीसा हाल्नेलगायतका काम अहिले जारी रहेको उनले जानकारी दिए ।

आयोजना प्रमुख मुनकर्मीले भने, ‘हालको विषम अवस्थासमेतमा नेपाली र चिनियाँ मजदुरबाट विमानस्थलको काम भइरहेको छ, पूर्णक्षमतामा काम हुन नसके पनि आयोजनाको काम रोकिने अवस्था भने आएको छैन ।’

बन्दाबन्दीमासमेत आयोजनाको कामले निरन्तरता पाएको हो । गत पुसदेखि आयोजनाको काम पूर्णक्षमतामा सञ्चालन हुन नसके पनि दैनिक १०० नेपाली र २५० चिनियाँले बन्दाबन्दीसमेतमा काम गरिरहेका छन् । यसअघि सो आयोजनामा ५०० मजदुरले काम गर्दथे ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउन घर गएका कतिपय चिनियाँ कामदार कोरोनाका कारणले काममा फर्कन नपाउँदा आयोजनाको काम छ महिना आंशिक प्रभावित भएको बताइन्छ । तोकिएको मितिभन्दा छ महिनाअघि आयोजना सम्पन्न गरी परीक्षण उडान शुरु गर्ने लक्ष्य राखिएको थियो ।

कोरोनाका कारणले निर्माण सामग्री र जनशक्ति अभाव हुँदा काम प्रभावित भएकाले पछिल्लोपटक सम्झौतामा उल्लेख समयसीमाभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सिभिलतर्फका अधिकांश काम सम्पन्न भएकाले तोकिएको मितिमा आयोजनाको काम पूरा हुने विश्वास गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना सिएएमसी इञ्जीनियरिङ कम्पनीबीच सन् २०१४ मा विमानस्थल निर्माणको सम्झौता भएको थियो । विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले सहुलियत ऋण उपलब्ध गराएको छ ।

इपिसि (इञ्जीनियरिङ प्रोक्योरमेन्ट र कन्स्ट्रक्शन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेशन (आइकाओ)को मापदण्डअनुसार ‘फोरडी’ मोडलमा विमानस्थल निर्माण गर्ने सम्झौतामा भएको थियो । पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि बोइङ ७५७ र एयरबस २१९ मोडलका न्यारोबडी विमान मात्र अवतरण गर्न मिल्ने बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL