Logo

चार्टर उडानमा बढी भाडा सम्बन्धमा पर्यटन मन्त्रालयले लियो एक्सन, ७ दिन भित्र प्रतिवेदन पेश गर्न समिति गठन

चार्टर उडानमा बढी भाडा सम्बन्धमा पर्यटन मन्त्रालयले लियो एक्सन, ७ दिन भित्र प्रतिवेदन पेश गर्न समिति गठन



काठमाडौं । कोरोना भाईरस संक्रमणको बेला ट्राभल एजेन्सीहरुले बढी भाडा लिएको भन्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको हो ।

कोरोनाका कारण बिभिन्न मुलुकबाट नेपाल आउन नसकेका तथा भिषा अवधि सकिन लागेका नेपाली यात्रुहरुलाई उद्धार गर्ने क्रममा नेपाल वायुसेवा निगमको जहाजले हङकङ र जापान चार्टर गर्दा ट्राभल एजेन्सीहरुले बढी मूल्यमा टिकट बिक्री गरेको गुनासो आएको मन्त्रालयले जानकारी दिएको छ ।

सोही विषयमा मन्त्रालयले विमान चार्टर गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिएको हो सत्य तथ्य छानवीन गरी सात दिन भित्र प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव शुरेश आचार्यको संयोजकत्वमा समितिसमेत गठन गरेको छ । सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखाका प्रमुख, मन्त्रालयका कानुन शाखाका उपसचिव राजन नेपाल सदस्य सचिव रहेका छन ।

साथै, आगामी दिनमा विमान चार्टर गर्दा जुन देशको लागि चार्टर गर्न लागिएको हो उक्त मुलुकको सम्बन्धित कुटनैतिक नियोगबाट यात्रुहरुको नामावलीसहितको पूर्व स्वीकृति र यात्रुसँग लिने भाडा रकमसमेत खुलाएर मात्र चार्टर उडानको लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिन मन्त्रालयले आग्रह गरेको छ ।

भाडादर नखुलेको अवस्थामा र चार्टर गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधार प्रस्तावित भाडा दर उचित भएको देखिएमा मात्र चार्ट उडान अनुमति प्रदान गरिने व्यवस्था मिलाएको बिज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL