Logo

वायुसेवा संचालकले घटाए आन्तरिक उडानको भाडा, यस्तो छ नयाँ भाडादर

वायुसेवा संचालकले घटाए आन्तरिक उडानको भाडा, यस्तो छ नयाँ भाडादर



काठमाडौं । नेपाल वायुसेवा संचालक संघले आन्तरिक उडानको भाडा घटाएको छ । कोरोना कहरका कारण हवाई उडान बन्द रहे पनि अब हुने हवाई उडानमा भने साविकको तुलनामा हवाई भाडा घट्ने भएको संघले जानकारी दिएको छ ।

हवाई उडान खुलाउने पक्षमा वायुसेवा कम्पनी रहेकोले पनि हवाई उडानको मिति तय नभए पनि हवाई भाडा घटेको सूचना संघले सार्वजनिक गरेको छ । नेपाल आयल निगमले हवाई इन्धन २० चैत २०७६ मा १० रुपैयाँ र १६ जेठ २०७७ मा १५ रुपैयाँ गरी प्रतिलिटर २५ रुपैयाँ घटाएको छ ।

निगमले हवाई इन्धनको शुल्क घटाएकाले वायुसेवा कम्पनीले सरकारसँग गरेको २७ जेठ २०७५ को निर्णय अनुसार इन्धनको मूल्य घट्दा हवाई भाडा घट्ने र बढ्दा बढ्ने गरी स्वचालित मूल्य लागू भइरहेको छ । सोही प्रणाली अनुसार हवाई भाडा घटाउने निर्णय भएको संघले जानकारी दिएको छ । हवाई इन्धनको मूल्य हाल प्रतिलिटर ६५ रुपैयाँ रहेको छ । संघका अनुसार हवाई इन्धनको शुल्क अनुसार १२५ देखि ११०५ रुपैयाँसम्मले हवाई भाडा घटेको वायुसेवा सञ्चालक संघले आइतबार जानकारी दिएको हो ।

यो हवाई भाडा अब तेलको मूल्य न्यूनतम ५ रुपैयाँ नघटेसम्मलाई लागू हुने भएको छ । ५ रुपैयाँ भन्दा बढी तेलको मूल्य घटबढ भएमा हवाई भाडा पुनरवलोकन हुने संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । संघले हवाई इन्धनमा १० रुपैयाँ भन्दा बढी नाफा नलिनसमेत सरकारलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL