Logo

पर्यटन क्षेत्रमा डेढ खर्ब क्षति, पुर्नउत्थान गर्न कोरोना पछि बार्षिक एक महिना विदा

पर्यटन क्षेत्रमा डेढ खर्ब क्षति, पुर्नउत्थान गर्न कोरोना पछि बार्षिक एक महिना विदा



काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारण धरासायी भएको पर्यटन क्षेत्रमा मात्रै १ खर्ब ६० अर्ब क्षति भएको अनुमान गरिएको छ ।

कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनसँगै पर्यटनसहित अन्य सबै क्षेत्र प्रभावित छन् । कोरोनाका कारण अर्थतन्त्रका कति क्षति पुगिसक्यो भन्ने यकिन तथ्यांक संकलन भईसकेको छैन् । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले क्षतिको तथ्यांक संकलन गरिरहेका छन् ।

नेपाल पर्यटन बोर्डका पुर्व कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रमा कोरोनाको असरबाट पर्यटन क्षेत्रमा करिब १ खर्ब ६० अर्ब क्षति हुने अनमान गरिएको बताए । पर्यटन क्षेत्रमा १३ लाख जनशक्तीलाई समेत असर गरेको जोशीले बताए ।

सरकारले सन् २०२२ सम्मको गुरु योजना बनाएर पर्यटन क्षेत्रको पुनर्उत्थान गर्न आवश्यक रहेको जोशीले बताए । ‘मन्त्रालयले नीतिगत परिवर्तन गरेर नयाँ संयन्त्र बनाउन आवश्यक छ,’ उनले भने, ‘यो एउटा नयाँपन ल्याउने ठूलो अवसर पनि हो ।’

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘कोरोना महामारीले पर्यटन क्षेत्रमा पारेको असर र आगामी बाटो’ विषयको भिडियो अन्तर्क्रियामा पर्यटनमन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटनमार्फत पर्यटन क्षेत्र बचाउन सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने तयारी गरिरहेको बताए । सम्भवतः आगामी बजेटमा यसलाई समावेश गरिने उनले बताए ।

उनले पर्यटनको पुनर्उत्थानमा सरकार र निजी क्षेत्र मिलेर अगाडी बढ्ने पनि बताए । ‘यो महामारी नियन्त्रणबारे अहिले नै भन्न सकिने अवस्था छैन, संक्रमण रोकिए पनि बाह्य पर्यटक आउने सम्भावना कम छ,’ उनले भने, ‘त्यसैले नेपालको पर्यटन क्षेत्र भाइब्रेन्ट बनाउन आन्तरिक पर्यटनलाई बढावा दिनुपर्छ ।’ उनले पर्यटन क्षेत्रको वित्तीय संकट समाधानका लागि अर्थ मन्त्रालयसँग छलफल गरेको बताए ।

मन्त्री भट्टराईले होटललगायतका क्षेत्रमा कार्यरत जनशक्तिलाई वैकल्पिक काममा लगाउन सरकारले गृहकार्य गरिरहेको समेत बताए । उनका अनुसार ती जनशक्तिलाई हिमाल सरसफाइ, साइनेजिङ, फुट ट्रेल निर्माणमा लगाउन सकिनेछ । सन् २०१९ मा पर्यटन क्षेत्रबाट डलर आम्दानी ६७ अर्ब रुपैयाँ भएको उल्लेख गर्दै मन्त्री भट्टराईले सन् २०२० का सवै योजना स्थगित भएकोले नयाँ ढंगले अगाडि बढ्नेसमेत बताए ।

उनले नेपालको पर्यटन क्षेत्रमा कति लगानी भन्ने विषयमा समेत अहिलेसम्म खास तथ्यांक नरहेकाले अहिले तथ्यांक संकलनसँगै क्षतिको विवरण संकलनको काम भइरहेको समेत बताए । “तथ्यांकको संकलन पर्यटन क्षेत्रमा लगानी कति छ रु बैंकहरूको लगानी कति छ रु श्रमिक कति छन् र क्षति के कति हो भन्ने आउछ,” मन्त्री भट्टराईले भने । तथ्यांक आएपछि सरकारले लगानीकर्ता र श्रमिकमा विषयमा खास कदम चाल्नेसमेत छलफलमा उनले जानकारी दिएका छन् ।

सरकारले यो अवस्थामा मुलुकको हरेक क्षेत्रमा सुरक्षा अवलम्बनका लागि म्यानुअल संयन्त्र बनाउन आवश्यक रहेको पूर्वप्रमुख कार्यकारी जोशीले बताए । सरकार र निजी क्षेत्रको सहकार्यमा सन् २०२० मा पर्यटन उद्योगलाई बचाउने, सन् २०२१ मा पुर्नउत्थान गर्ने र सन् २०२२ मा पूर्ण रूपमा पर्यटकीय गतिविधि विस्तार गर्ने रणनीति लिनुपर्ने उनले बताए । जोशीले साना उद्योगी र श्रमिक बचाउने खालको प्याकेजसमेत सरकारले ल्याउनुपर्ने बताए ।

होटल संघ नेपालका द्वितीय उपाध्यक्ष प्रवीण पाण्डेले पर्यटन उद्योग बचाउन निजी क्षेत्रले जम्मा गरेको सामाजिक सुरक्षा कोष प्रयोगमा ल्याउनुपर्ने बताए । ‘अब लकडाउन खुलिहाले पनि विदेशी पर्यटक आउने सम्भावना कम छ । हवाई यात्रामा पनि सामाजिक दूरी कायम गर्दा भाडा महँगो हुने भएकाले पर्यटक घुमफिरको सम्भावना कम देखिन्छ,’ उनले भने, ‘अब विकल्प भनेकै आन्तरिक पर्यटन हो ’ उनले श्रमिकको तलव खुवाउन होटल व्यवसायीलाई समस्या पर्ने भएकाले त्यसतर्फ ध्यान सवैको जानुपर्ने बताए ।

अब सरकारले नयाँ बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग कसरी गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने विषयमा केन्द्रित हुनुपर्ने बताए । ‘सरकार र निजी क्षेत्र मिलेर ३ वर्ष पर्यटनको पुनर्उत्थान गर्नेमा केन्द्रित हुन आवश्यक छ,’ पाण्डेले भने । सरकारले रिफाइनान्स र सस्तो ब्याजको व्यवस्था गर्नसमेत पाण्डेले सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL