Logo

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम स्थगित, यस्तो छ कारण

गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम स्थगित, यस्तो छ कारण


बिजखबर संवाददाता
378
Shares

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम स्थगित भएको छ । विमानस्थल निर्माणमा चाहिने आवश्यक नदीजन्य पदार्थको अभाव भए पछि निर्माणकार्य स्थगित गर्नु परेको आयोजनाले जानकारी दिएको छ ।

कोभिड–१९ का कारण सरकारले गरेको बन्दाबन्दीले गर्दा निर्माण कम्पनीले नदीजन्य पदार्थ निकाल्न नपाएपछि काम ठप्प हुने अवस्थामा पुगेको हो । हाल उक्त बिमानस्थलको ९० प्रतिशत काम भने सम्पन्न भईसकेको छ ।

आयोजनाका अनुसार धावन मार्ग, अन्तरराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न भइसकेको उक्त विमानस्थलको पेरिमिटरको सडक निर्माण, टर्मिनल र एप्रोनबीचको भाग ढलान र उपकरण जडान गर्न मात्र बाँकी रहेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन ।

चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेकोे विमानस्थल सन् २०२० मार्च ३१ सम्म सम्पन्न हुनुपर्ने अन्तिम म्याद थियो । आयोजनाका लागि निर्माण कम्पनीका प्रतिनिधि र बुटवल उपमहानगरपालिकाबीच तिनाउबाट बालुवागिट्टी ल्याउने सम्झौता फागुनमा भए पनि बन्दाबन्दीका कारणले रोकिएको अधिकारीले बताए । २९ जना चिनियाँ प्राविधिक –कामदार र ८० नेपाली कामदार आन्तरिक क्वारेन्टाइनमा बसेर काम अगाडि बढाउन तयार भए पनि नदीजन्य सामग्रीको अभावले कुनै काम नभएको आयोजनाले जानकारी दिएको छ ।

निर्माण कम्पनीले वैशाख र जेठभित्र नदीजन्य वस्तु निकाल्न नपाए विमानस्थल निर्माणको काम थप एक वर्ष लम्बिने अनुमान गरिएको छ । चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले सन् २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २२७ रुपैयाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माणको जिम्मा लिएको हो । सो कम्पनीले सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । निर्माण कम्पनीले मधेश आन्दोलन, नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ ।
बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL