Logo

कोभिड १९ : अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रभावित

कोभिड १९ : अन्तरराष्ट्रिय विमानस्थलको निर्माण प्रभावित



काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रभावित बनेको छ । चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेको विमानस्थल सन २०२० मार्च ३१ सम्म निर्माण कार्य सकिने अन्तिम म्याद भएपनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि लकडाउनका कारण काम प्रभावित भएको हो ।

विमास्थलको निर्माणमा धावन मार्ग, अन्तराष्ट्रिय टर्मिनल भवन, ट्याक्सी वे, सिसिटिभी, रेस्क्यु एण्ड फायर फाइटिङ, कन्ट्रोल टावर, केही प्राविधिक उपकरण जडान र प्रशासनिक भवनलगायत ९० प्रतिशत कार्य सम्पन्न गरिसकेको भएपनि लकडाउनका कारण थप काम गर्न समस्या रहेको निर्माण कम्पनीले जानकारी दिएको छ । निर्माण कार्यमा स्थानीय मदजुरहरु लकडाउनका कारण घर फर्किसकेको, नदीजन्य पदार्थ निकासी गर्न नपाएको र विमानस्थलमा जडान गर्न खरिद गरेका उपकरणहरु ल्याउन नपाएपछि निर्माण कार्य प्रभावित बनेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिएका छन ।

चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले सन २०१४ डिसेम्बर ३१ मा ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा ग्लोबल टेन्डरमार्फत विमानस्थल निर्माण कार्यको जिम्मा लिएको थियो । जसको सन २०१७ डिसेम्बर सम्ममा निर्माण कार्य सम्पन्न गुर्नपर्ने सम्झौता रहेको थियो । तर निर्माण कम्पनीले मधेस आन्दोलन, भारतीय नाकाबन्दी र आन्तरिक कारण देखाउँदै चार पटक निर्माण सम्पन्न गर्ने म्याद थपिसकेको छ । यो चारपटक थपेको म्यादमा पनि विमानस्थल निर्माण कार्य सक्न गाह्रो भएको आयोजना प्रमुख अधिकारीले बताए ।

एसियाली बिकास बैंक (एडिबि) को ऋण सहयोगमा निर्माण भइरहेको उक्त विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्दा ठूलो विमानस्थल हो । विमानस्थल कुल ७ सय ८७ विघाहा क्षेत्रफलमा निर्माण कार्य भइरहेको छ । विसं. २०२३ देखि आन्तरिक उडान गर्दै आएको सो विमानस्थलको निर्माण कार्य सम्पन्न भएपछि प्रदेश नं. ५ को आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL