Logo

विमानस्थल सरसफाइमा जुट्दै शर्मा, पहिलो चरणमा १० विमानस्थल सरसफाई गर्ने

विमानस्थल सरसफाइमा जुट्दै शर्मा, पहिलो चरणमा १० विमानस्थल सरसफाई गर्ने



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सरसफाइमा आमूल परिवर्तन ल्याएका गैरआवासीय नेपाली खेम शर्मा अहिले आन्तरिक विमानस्थल सरसफाइ अभियानमा जुटेका छन ।

laxmi

दुई वर्षअघि एक महिनासम्म निरन्तरको मेहनतपछि त्रिभुवन विमानस्थलको सरसफाइमा परिवर्तन ल्याउएका अष्ट्रेलिया निवासी शर्मा नेपालका अन्य आन्तरिक विमानस्थलमा समेत सरसफाइ अभियान सञ्चालन गर्न नेपाल आएका छन । ‘सरसरफाइ अभियानका लागि पहिलो चरणमा १० वटा विमानस्थलको निरीक्षण गर्ने हुनेछ’, उनले भने, ‘नेपालगञ्ज विमानस्थल अन्य विमानस्थलको तुलनामा राम्रो छ, तर अझै धेरै राम्रो गर्न सकिन्छ ।’ शहरको विकास र सभ्यता सरसफाइबाट झल्किने भएकाले विमानस्थललाई सफा राख्नुपर्ने उनको भनाई छ ।

अष्ट्रेलियामा सरसफाइसम्बन्धी काम गरेर सीप हासिल गरेका शर्माले अहिले आफैं सरसफाइ कम्पनी सञ्चालन गर्दै आएका छन । सरसफाइमा सिकेको सीप र अनुभवलाई आफ्नो मुलुकको विमानस्थल सरसफाइ अभियानमा प्रयोग गर्न लागिएको उनले बताए । ‘विदेशी नागरिक पहिलोपटक नेपाल आउँदा विमानस्थलमा पुग्छन, विमानस्थलको सरसफाइको अवस्थाले नेपालप्रति उनीहरुको धारणा बन्ने गर्दछ’, शर्माले भने, ‘त्रिभुवन विमानस्थल सरसफाइ अभियानमा पाएको सफलता र प्रशंसाले गर्दा अन्य विमानस्थलमा पनि सरसफाइको अभियान शुरु गरेका छौँ ।’

अभियान सञ्चालनका लागि शर्माले शनिबारसम्म पश्चिम नेपालका धनगढी, नेपालगञ्ज र गौतमबुद्ध विमानस्थल भैरहवाको निरीक्षण गरिसकेका छन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहमतिमा विमानस्थल सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो । ‘हामी आफैँले वा विदेशबाट मान्छे ल्याएर सरसफाइ अभियान सञ्चालन गर्ने होइन’, उनले भने, ‘सरसफाइका कर्मचारीलाई आफूले जानेको प्रविधि सिकाएर हाम्रो अनुपस्थितिमा पनि यहाँका कामदार सरसफाइ गर्न सक्षम हुने गरी सीप हस्तान्तरण गर्नेछौँ ।’

सरसफाइका क्षेत्रमा काम गर्ने कर्मचारीलाई तालीम, उपकरण र सुरक्षा सचेताको अभाव रहेकाले काम गर्दा आफू पिछडिएको अनुभूति गर्ने गरेको पाइएको शर्माले बताए । ‘हामीले विमानस्थलको सरसफाइमा कुनै नयाँ काम गर्न गइरहेको होइन, भइरहेको कामलाई परिणाममुखी बनाउने मात्र हो’, शर्माले भने, ‘सबैभन्दा पहिले मैले सरसफाइ गर्ने कामदारमा आफ्नो कामप्रतिको हिन भावना हटाउने र आत्मसम्मान जगाउने काम गर्ने हो ।’

नेपाल आउने पर्यटकको पहिलो दृष्टि यहाँको सरसफाइमा पर्छ, देशको मुख्य प्रवेशद्वार विमानस्थलको सफाइ भएमा मात्र अन्तरराष्ट्रियरुपमा देशको छवि सुन्दर बन्छ भन्ने शर्माको धारणा छ । गैरआवासीय नेपाली आफ्नो ज्ञान, सीप र आर्जन गरेको धन आफ्नो मातृभूमिका लागि सदुपयोग गर्न चाहन्छन् भन्ने यो एक उदाहरण भएको शर्मा बताउँछन । चितवनको भरतपुर महानगरपालिका निवासी उनको कम्पनीले भरतपुर विमानस्थल, भरतपुर क्यान्सर अस्पताललगायत कैयौँ स्थानमा यस्तो सरसफाइ अभियान सम्पन्न गरिसकेको छ । उनले आफूले ती संरचना वा स्थल सफा गर्नेभन्दा पनि यहीँका जनशक्तिलाई सीप र कार्यशैली सिकाउने काम गर्दै आएका छन/रासस

प्रतिक्रिया दिनुहोस्
MBL