Logo

चीनमा रहेका कोरोना प्रभावित नेपालीलाई लिन जहाज पठाउने तयारी, मन्त्रिपरिषदको निर्णय कुर्दै निगम

चीनमा रहेका कोरोना प्रभावित नेपालीलाई लिन जहाज पठाउने तयारी, मन्त्रिपरिषदको निर्णय कुर्दै निगम



काठमाडौं । सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि नेपाल वायु सेवा निगमको वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक/दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जानकारी दिएको छ ।

चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिएकी छिन । ‘निगम आन्तरिक तयारीमै छौं’, उनले भनिन, ‘सरकारले निर्णय गर्नासाथ वाइड बडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौं ।’ मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ । निगमले नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइड बडी जहाज पठाउने वचन दिइसकेको छ ।

निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ । वाइड बडी जहाज पठाउँदा करीब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जानकारी दिएको छ । कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीकोे जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए ।

उनले भने, ‘चीनमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने विषयमा छलफल भएको छ, हाम्रोतर्फबाट तयारी भएकै छ, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारी गरिरहेकै छ, अब यो विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, त्यसपछि सबै काम सहज, सुलभ र व्यवस्थित ढंगले अघि बढ्छ ।’ यसअघि नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको नेपालको निजी क्षेत्र र चीन सरकारको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सको जहाजलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो तर, चीनबाट नेपाली ल्याउनका लागि हिमालयको जहाज प्रयोग गर्नेबारे औपचारिक छलफल नभएको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बताईन । यद्यपि, हिमालय एयरलाइन्सका अध्यक्ष आज काठमाडौं आएकाले त्यस विषयमा छलफल हुने उनले बताईन ।

पर्यटनमन्त्री योगेशकुमार भट्टराईले चीनमा फैलिएको कोरोनाले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावका सम्बन्धमा हालै पर्यटन क्षेत्रसँग सरोकार भएका निकायसँगको छलफलका क्रममा चीनमा रहेका नेपाली ल्याउन निगम र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको बताएका थिए । चीनको हुवेइ प्रान्तको वुहान प्रान्तबाट १८० नेपालीले स्वदेश र्फकन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा समेत फैलिसकेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ८ सय भन्दा बढीको मृत्यु भइसकेको छ । प्रतिनिधिसभाको हालैको बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सांसदले उठाएको प्रश्नको जिज्ञासामा सरकारले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको बताए । उनले कोरोना भाइरसको संक्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको बताएका छन । चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ ।

कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस संक्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL