Logo

सरकार भन्छ- भ्रमण बर्षको तयारी तीब्र, नीजि क्षेत्र भन्छ- सचिवालयलाई पनि जाडो लागेछ

सरकार भन्छ- भ्रमण बर्षको तयारी तीब्र, नीजि क्षेत्र भन्छ- सचिवालयलाई पनि जाडो लागेछ



काठमाडौं । सरकारले भ्रमण बर्ष २०२० को तयारीलाई तीब्र बनाएको बताएको छ । यही पुस १६ गते दशरथ रंगशालामा राष्ट्रपति विद्यादेबी भण्डारीले उद्घाटान तथा भ्रमण बर्ष २०२० को घोषणा गर्ने गरी तयारी भएको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकारले भ्रमण बर्ष २०२० को उद्घाटन समारोहमा बिभिन्न झाँकी, साँस्कृतिक कार्यक्रम भिडियो प्रदर्शनीलगायतका कार्यक्रमको सम्पूर्ण तयारी गरिरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै सरकारले भ्रमण बर्षको उद्घाटन समारोहकै लागि ४० ओटा अन्तरराष्ट्रिय संचारमाध्यमलाई समेत निम्ता दिईसकेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिएका छन ।

साथै सोही दिन ७ ओटै प्रदेश राजधानीमा समेत भ्रमण वर्षको विशेष उद्घाटन गर्ने तयारीमा सरकार रहेको छ । त्यस्तै जनवरी ७ ताखिमा भने बिभिन्न देशका कुटनीतिक नियोग, राजदूतावासलगायत सबै क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरि भ्रमण बर्षको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उनका अनुसार सरकारले भ्रमण बर्षको शुभारम्भको अवसरमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यही २५ तारिकदेखि २ तारिखसम्म ‘न्यु इभेन्ट नेपाल’ भनेर ब्राण्डिङ गर्ने, ३१ तारिखमा नयाँ वर्षको जमघट हुने नेपालका सबै म्यूजिक क्लबहरुमा भ्रमण बर्ष लक्षित कार्यक्रम गर्ने तयारी रहेको छ ।

त्यस्तै सोही कार्यक्रम लक्षित हरेक स्थानहरुमा जनता सहभागी कार्यक्रमहरु रहेको र नीजि क्षेत्रबाट हुने हरेक कार्यक्रमहरुमा भ्रमण बर्षको भिजिबिलिटी बनाई दिनसमेत आग्रह गरेको जोशीले जानकारी दिएका छन । बर्ष भरिका कार्यक्रमहरुमा भने एडभेन्चर, म्युजिक, ठूला–ठूला कन्फ्रेन्सहरुलगायतका कार्यक्रमहरु रहेको जोशीले बताए ।

सरकारले भ्रमण वर्षको तयारी तीब्र गतिमा भइरहेको दाबी गरेपनि नीजि क्षेत्रले भने सरकारी तयारी निकै सुस्त रहेको बताउँदै आएको छ । होटल एशोसिएशन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष बिनायक शाहले भने जुन रफ्तारमा काम हुनु पर्ने हो त्यो नभएको बताए । उनले भने, ‘हाम्रा सचिवालय संयोजक बैद्यजीलाई पनि जाडो लागेको जस्तो छ, जुन गतिमा हामी जानुपर्ने थियो,त्यो गतिमा जान सकेका छैनौं ।’

‘तर के चाँहि हो भने हाम्रा होटल क्षेत्रको कुरा गर्ने हो भने हामी सयमा ९० प्रतिशत तयारी अवस्थामा रहेका छौं,’ उनले भने, ‘पर्यटकलाई नेपाल बस्दा खाने बस्नेदेखि लिएर मनोरञ्जनको सुविधामा कुनै समस्या नरहने गरि तयारी भईसकेको छ, हाम्रो तर्फबाट ओके छौं हामी, २० लाख पर्यटक राख्न सक्षम छौं ।’

भ्रमण बर्षको तयारी भईरहँदा होटल क्षेत्रमात्रै सक्ष्म भएर नपुग्ने र अन्य निकाय पनि त्यतिकै तयार रहनुपर्नेमा सो काम हुन नसकेको व्यवसायीहरुको भनाई रहेको छ । बिमानस्थललगायतको कमजोर पूर्वाधार र हवाई पहुँचका दृष्टिले अहिलेकै अवस्थामा त २० लाख पर्यटक ल्याउन नसकिने पर्यटन ब्यवसायीहरुको गुनासो रहेको छ । सरकारले एउटा विमानस्थलको मात्रै स्तरोन्नती गरेर २० लाख पर्यटक नआउने उनीहरुको बुझाई रहेको छ ।

‘सरकारले विमानस्थलसँगै सडकलाई समेत ध्यान दिएको भए राम्रो हुने थियो, तर त्यो भईदिएन । अहिले पनि राजधानीकै सडकहरु समेत मर्मत हुन सकेको छैन । यस्तो अवस्थामा पर्यटक जाने क्षेत्रको अवस्था कस्तो होला हामी अनुमान गर्न सक्छौं । नजिकैको पर्यटकिय क्षेत्रसम्म पुग्ने बाटो समेत मर्मत गर्न नसक्दा ति क्षेत्रसम्म पुग्ने पर्यटकले अनेकौं सास्ती खेप्नु पर्ने अवस्था छ’, एक टुर व्यवसायीले भने ।

त्यस्तै ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले भने आफुहरु तयारी अवस्थामा रहेको र भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक ल्याउन सकिने बताउँछन । उनले भने, ‘सरकारले ईभेन्ट बनाउने हो पर्यटक ल्याउने त हामी नीजि क्षेत्रले नै हो त्यसको लागि प्रचारप्रसार गर्नेदेखि सबै काम तीब्र गतिमा गरिरहेका छौं ।’ ‘तर पर्यटक भनेको सबैको हो भन्ने हुनुपर्छ,’ उनले भने, ‘पर्यटक भनेको सरकार, मन्त्रालय र ट्रेकिङ ब्यवसायीको मात्रै हो भनेर बस्यौं भने त २० लाख पर्यटक ल्याउन सकिँदैन । सबैले पर्यटन हाम्रै हो भनेर लाग्यौं भने सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL