Logo

बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत, एसिया प्यासिफिक क्षेत्रको दिगो पर्यटन गन्तव्य

बर्लिन पर्यटन मेलामा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत, एसिया प्यासिफिक क्षेत्रको दिगो पर्यटन गन्तव्य



काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्ज एसिया प्यासिफिक क्षेत्रबाट दिगो गन्तव्यका रुपमा पुरस्कृत भएको छ । विश्व कै ठूलो पर्यटन मेला आइटिवी बर्लिन जर्मनीमा सय दिगो पर्यटन गन्तब्यहरु मध्ये एसिया प्यासिफिकक्षेत्रबाट दिगो गन्तब्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज पुरस्कृत भएको हो ।

मेलाकै अवसरमा २०७५ फागुन २२ मा आयोजित एक भब्य समारोहका बीच बर्दियाले उत्तरदायी पर्यटनमा गरेको प्रयत्नहरु र यसको संरक्षणमा भएको विशिष्टतालाई कदर गर्दै आइटिवी मेला आयोजक र ग्रिन डेस्टिनेशन संस्थाले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका छन ।

डा अल्बर्ट सल्मान प्रमुख रहेको उक्त सय दीगो पर्यटन गन्तब्यहरुको छनोट प्रक्रियामा विशेषत दीगो विकासमा काम गर्ने विभिन्न संघ संस्थाहरुको सहकार्य रहेको थियो ।

उक्त पुरस्कार सँगै नेपाल ग्रिन डेस्टिनेशन ग्लोबल लिडर्स नेटवर्कमा समावेश भएको छ । दीगो पर्यटन विकासमा काम गर्ने संस्थाहरुको सर्वोच्च संस्थाका रुपमा रहेको यस नेटवर्कमा समावेश हुन पाउनु आफैमा गौरवको कुरा हो । नेपालले विशेषतः दीगो पर्यटन विकासका क्षेत्रमा गरेको पहल, बर्दिया लगागतका क्षेत्रमा बाघको संख्यामा देखिएको दोहोरो बृद्धिका कारणहरु नै बर्दियालाई यो सम्मान प्रदान गरिएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको यही विशेषताहरुको जानकारी विश्यब्यापी गराउने नेपाल पर्यटन बोर्डको अभियानलाई अगुवाइ गर्ने प्रमुख कार्यकारी दीपकराज जोशीले बर्दियाका लागि यस सम्मानको ग्रहण गरेका थिए । उक्त सम्मान समारोहमा बोल्दै जोशीले बर्दिया विशिष्ट दीगो गन्तब्य भएको बताए र सहकार्य गर्ने सबै संस्था विशेषत डब्लुडब्लुएफ, राष्ट्रिय प्रकृति संरक्षण कोष, इको टुरिज्म सोसाइटी बर्दिया लगायत स्थानियहरुलाई धन्यवाद दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL