Logo

सौर्य एयरले विमानस्थललाई बुझायो ५० लाख, २ महिना भित्रै सबै बुझाउने

सौर्य एयरले विमानस्थललाई बुझायो ५० लाख, २ महिना भित्रै सबै बुझाउने



काठमाडौं । लामो समय देखी ग्राउण्डेड रहेको सौर्य एयरले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई बक्यौता बापतको रकम बुझाएको छ ।

मंगलबार दिउँसो बक्यौता रकमको पहिलो किस्ता बापत ५० लाख रुपैयाँ बुझाएको विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन । विमानस्थलले पार्किङ, सेवा शुल्क लगायतको बक्यौता रकम नबुझाएको भन्दै करिब ४ महिना अगाडी जहाज ग्राउण्डेड गरेको थियो ।

कम्पनीले विमानस्थललाई बुझाउनु पर्ने बक्यौता रकमबाट ५० लाख रुपैयाँ बुझाए पछि विमानस्थलले कम्पनीलाई जहाज संचालन गर्न दिने भएको छ । कम्पनीले अवको १० दिन भित्रमा अर्को ५० लाख रुपैयाँ बुझाउने र २ महिना भित्रमा सबै रकम चुक्ता गर्ने गरी मौखिक रुपमा बताएको क्षेत्रीले जानकारी दिएका छन ।

उनका अनुसार मौखिक रुपमा प्रतिबद्धता आए पनि कम्पनीले भने बुधबार लिखित रुपमानै प्रतिबद्धता पत्र ल्याउने भएको छ । कम्पनीले विमानस्थललाई करिब ४ करोड रुपैयाँ बक्यौता रकम बुझाउनु पर्ने छ ।

पटक पटक लगानीकर्ता भित्र्याए पनि बक्यौता रकम बुझाउन नसकेको सौर्य एयरले भारतीय लगानीकर्ता कुबेर समुहलाई जहाज विक्री गरे पछि सो बक्यौता रकम बुझाउन सफल भएको हो ।

कम्पनीले मार्च ८ बाट आफ्नो जहाज संचालनमा ल्याउने भएको छ भने आगामी २ वर्ष भित्रै थप १२ ओटा जहाज समेत ल्याउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL