Logo

आईएमई ग्रूपले भित्र्यायो सलाम एयर, एकतर्फी भाडा १६ हजार

आईएमई ग्रूपले भित्र्यायो सलाम एयर, एकतर्फी भाडा १६ हजार



काठमाडौं । आईएमई ग्रूपले ओमनको बजेट एयरलायन्स सलाम एयरलाई नेपाल भित्र्याएको छ । मंगलबार बिहान ८ बजेर ५६ मिनेटमा सलाम एयरको एयर बस ३२०÷२१४ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

हप्ताको सातै दिनको उडानको अनुमती पाएको सलाम एयरले सुरूमा हप्तामा ४ दिन मात्र उडान भर्ने सलाम एयर तथा आईएमई ग्रूपका मिडिया कोअडिनेटर राजु पौडेलले बताएका छन ।

सलाम एयरले नेपाली समय अनुसार बिहान ८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ भने ८ बजेर ४० मिनेटमा पुनः ओमान फर्कनेछ ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले विमानलाई स्वागत गर्दै ग्रूपले हालसम्म बैदेशिक रोजगारीमा गएकाहरुमार्फत रेमिटान्स भित्र्याउँदै आएकोमा अब एयरसँँगको सहकार्यमा सरकारको २०२० को लक्ष्य भेटाउन पनि आईएमईले विमान भित्र्याएको बताएका छन ।

विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले काठमाडौंको आकाशको ब्यस्तताका बाबजुत पनि एयरलाई बिहानको समय उपलब्ध गराएको भन्दै आगामी दिनमा एयरले हप्ताको १४ उडान गर्न समेत आग्रह गरेका छन ।

हाल १ सय ७४ सिटे उक्त जहाजले ढाका, दोहा, दुबई, बाकु, टिबलिस लगाएत १० वटा बाह्य तथा २ वटा आन्तरिक उडान गर्दै आएकोमा काठमाडौं लागायतका स्थानमा थप उडान गर्दै १५ गन्तब्यमा आफ्नो उडान विस्तार गरेको छ ।
अन्य एयरको भन्दा सस्तो भाडादर रहेको सो एयरलाईन्सले काठमाडौ ओमानको भाडादर भने नेपाली रुपैयाँ १६ हजार कायम गरेको छ ।

साथै एयरले १ वर्ष भित्रमा कुनै पनि गन्तब्यमा सलाम एयरबाट यात्रा गरेको १० वटा बोर्डिङ पास कार्यालयको टिकट काउन्टरमा बुझाए बापत १ टिकट निशुल्क प्राप्त गर्न सक्ने ग्रूपले जानकारी दिएको छ ।

एयरलाईन्सले पहिलो उडानमा आएका ग्राहकलाई चन्द्रगिरी केबलकारको टिकमा ५० प्रतिशत छुट दिइएको छ भने त्यस पछि सलाम एयरमार्फत यात्रा गर्ने ग्राहकको लागि भने २५ प्रतिशत छुटको ब्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL