Logo

आलोचनापछि सञ्चार मन्त्रालय ‘ब्याक’, प्राधिकरण अध्यक्षका लागि खुला आवेदन माग

आलोचनापछि सञ्चार मन्त्रालय ‘ब्याक’, प्राधिकरण अध्यक्षका लागि खुला आवेदन माग



काठमाडौं । यसअघि सरकारको निर्णयबाट बर्खास्तमा परेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालाई नै ल्याउने गरि मन्त्रीपरिषदमा सोझै प्रस्ताव पेश गरेको सञ्चार तथा सुचना प्रविधि मन्त्रालय पछि हटेको छ ।

विवादीत झालाई नै ल्याउने गरी पेश भएको उक्त प्रस्तावको प्रक्रिया अन्त्य गरी मन्त्रालयले शनिबार प्राधिकरण अध्यक्षका लागि खुला आवेदन माग गरेको छ । आवेदनमा ३० देखि ६५ वर्ष उमेरभित्रका दश वर्षसम्म दूरसञ्चार क्षेत्रमा अनुभव हासिल गरेको व्यक्तिले आवेदन दिन पाउने सूचना छ ।

त्यस्तै सरकारी सेवामा रहेका कर्मचारीका हकमा राजपत्राकिंत प्रथम श्रेणी, दशौं तह अथवा त्योभन्दा माथिल्लो तहले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ । सरकारले खुला आवेदन माग गरेको भएपनि कतिपय प्रावधान झालाई नै ल्याउने गरी व्यवस्था गरिएको स्रोतको भनाई छ । ‘खुला आवेदन भनिएपनि नियुक्ति प्रक्रियामा रहेका अस्पष्टताले फेरि पहिलेकै अध्यक्षलाई सहज हुने व्यवस्था गरिएको बुझ्न सकिन्छ’ स्रोतले भन्यो ।

यसअघि बिजखबरले प्राधिकरण अध्यक्षमा झालाई नै फर्काउने विषयमा मन्त्रीपरिषदमा प्रस्ताव पेश भएको समाचार प्रकाशन गरेको थियो । त्यसपछि मन्त्रालयको उक्त प्रयासको निरन्तर आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL