Logo

५ लाख पटक डाउनलोड भयो डिजिटल वालेट खल्ती, प्रयोगकर्ता ८ लाख बढि

५ लाख पटक डाउनलोड भयो डिजिटल वालेट खल्ती, प्रयोगकर्ता ८ लाख बढि



काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या ५ लाख नाघेको छ । आफ्नो स्थापना कालको २ बर्षको अवधिमै कम्पनीले उक्त उपलब्धी हाँसिल गरेको हो ।

laxmi

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । यति छोटो अवधिमै पाँच लाख एन्ड्रोइड एप डाउनलोडको उपलब्धि हासिल गर्न सक्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनिष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवाहरुलाई अनलाईन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनको भनाई छ ।

उनका अनुसार हाल दैनिक दशौं हजार जना सेवाग्राहीले खल्ती वालेटमा पैसा लोड गर्दै विभिन्न डिजिटल भुक्तानीका लागि खर्च गर्ने गरेका छन । साथै देशका हरेक कुना काप्चाबाट सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न डिजिटल नेपाल, समृद्धिको महाअभियान’ भन्ने नाराका साथ भरपूर प्रयास गर्ने उनको भनाई छ ।

नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार नेपालमा मोबाईल सेवाको पहुँच १३७ प्रतिशत भन्दा धेरै छ र ६५ प्रतिशत जनसंख्याले तीब्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छ्न् । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार ८३ लाख नेपालीहरुले मोबाईल बैंकिङ सेवा र ९ लाखले इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्छन् ।

तथापि, विश्व बैंकले सन् २०१७ मा प्रकाशित गरेको तथ्याङ्क अनुसार ४५ प्रतिशत नेपालीहरुको मात्रै बैंकमा खाता छ । यस्तो अवस्थामा खल्तीले बैंकिङ पहुँच बाहिर रहेको जनसंख्यालाई डिजिटल प्लाटफर्ममा ल्याउन र वित्तीय सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीको बुझाई छ ।

खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ लगायतका सुविधाको पेमेन्ट गर्न सकिन्छ । हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL