Logo

संखुवासभाको दुर्गम क्षेत्रमा नेपाल टेलिकमको सेवा, सोलारको भरमा ४ बिटीएस टावर

संखुवासभाको दुर्गम क्षेत्रमा नेपाल टेलिकमको सेवा, सोलारको भरमा ४ बिटीएस टावर



काठमाडौं । संखुवासभाका दुर्गम क्षेत्रमा नेपाल टेलिकमले ४ बिटीएस टावर जडान गरेको छ । टेलिकमले सौर्य उपकरणका भरमा उक्त बिटीएस प्रणालीमार्फत सेवा सञ्चालन गरेको हो ।
टेलिकमले मकालु गाउँपालिका–५ अरुण तेस्रो ड्यामसाइड फयाक्सिन्दा, चिचिला गाउँपालिका–२ इम्चुङ, मादी नगरपालिकाको मावादीन र खाँदबारी–३ को मानेभञ्ज्याङमा टावर जडान गरेको हो ।

मोबाइल फोन नचल्ने दुर्गम क्षेत्रका उक्त ४ स्थानमा बिटीएस टावर थपिएपछि स्थानीयवासीलाई राहत मिलेको छ । भौगोलिक रूपमा विकट र विद्युत सेवा नभएका कारणले मोबाइल फोन सेवाबाट बञ्चित स्थानीयवासीलाई सहज भएको हो ।

दुर्गमको समस्यालाई मध्यनजर गर्दै ति ४ स्थानबाट सेवा विस्तार गरिएको संखुवासभा टेलिकमका प्रमुख राधारमण भट्टराईले जानकारी दिएका हुन । पहाडी भू–भागमा धेरैजसो डाँडाकाँडाले छेकिने भएकाले मोबाइल फोन चल्न नसकेपछि स्थानीयवासीले टावरको माग गरेका थिए ।

मोबाइल फोन नटिप्ने सभापोखरी गाउँपालिकाको सभापोखरी र स्वाचीमा समेत बिटीएस टावर थप्ने अन्तिम तयारी भइरहेको टेलिकमले जानकारी दिएको छ । खाँदबारीमा रहेको टेलिकम शाखाले संखुवासभा र भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिरहेको प्रमुख भट्टराईले बताए ।

उनका अनुसार भोटखोलाको किमाथांकामा रहेको टावर प्रत्यक्ष भिसेट (स्याटेलाइट) मार्फत सञ्चालन भईरहेको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सौर्यबत्तीकै भरमा बिटीएसबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ । उनका अनुसार जिएसएम ८, सिडीएमए ५ र ल्याण्डलाइन सेवा ५ स्थानबाट सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL