Logo

बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ दूरसंचार सेवाप्रदायक भित्र्याउँदै प्राधिकरण, बक्यौता नतिर्नेको स्वतः लाइसेन्स खारेज

बजारलाई प्रतिस्पर्धी बनाउन नयाँ दूरसंचार सेवाप्रदायक भित्र्याउँदै प्राधिकरण, बक्यौता नतिर्नेको स्वतः लाइसेन्स खारेज




काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालको दूरसंचार सेवालाई प्रतिस्पर्धी बनाउन नयाँ विदेशी सेवाप्रदायक कम्पनी ल्याउने भएको छ । प्राधिकरणले नेपालमा हाल संचालनमा रहेका कम्पनीहरुको लाईसेन्स खारेज गरी नयाँ विदेशी कम्पनी ल्याउने भएको हो ।

हाल नेपालको दूरसंचार क्षेत्र ३ ठुला सेवाप्रदायक नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको कब्जामा छ । यी ३ कम्पनीहरुले बजारको माग धानेपनि सोही अनुसार प्रतिस्पर्धी नभएकाले विदेशी लगानीकर्ता ल्याउन लागिएको हो ।

नेपालको दूरसंचार सेवालाई सस्तो बनाउन नयाँ अन्तरराष्ट्रिय कम्पनी भित्र्याइने प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘हाल नेपालका केही सेवाप्रदायकले लाईसेन्स लिएर सेवा प्रवाह गरिरहेका छैनन,’ उनले भने, ‘यस्ता कम्पनीको लाईसेन्स खारेज गरी सोही लाईसेन्स नयाँ अन्तरराष्ट्रिय कम्पनीलाई दिने तयारी गरीरहेका छौं ।’

हाल युटीएल, हेलो नेपाल, स्मार्ट सेललगायत केही ईन्टरनेट सेवा दिने भन्दै लाईसेन्स लिएका कम्पनीहरुले लाईसेन्स लिएपनि सेवा प्रवाह तथा विस्तार गरेका छैनन । उनीहरुले प्राधिकरणलाई तिर्नुपर्ने जरिवाना, दस्तुर, नविकरण दस्तुर लगायत शिर्षकमा बक्यौता समेत तिर्न बाँकी छ । यस्ता कम्पनीलाई बक्यौता तिर्नका लागि १५ दिनको अल्टिमेटम प्राधिकरणले दिएको छ ।

उक्त समयभित्र तिर्नुपर्ने रकम तथा बक्यौता तिर्न नसके उनीहरुको लाईसेन्स खारेज गर्ने अध्यक्ष खनालको भनाई छ । स्मार्ट टेलिकम लगायतका कम्पनीले प्राधिकरणलाई विभिन्न शिर्षकमा करिव ४ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यी कम्पनीहरुमध्ये सबैभन्दा बढि बक्यौता तिर्न बाँकी कम्पनी स्मार्ट टेलिकमले १५ दिनभित्र निश्चित रकम तिर्ने र बाँकी रकम ३ महिनाभित्र तिर्ने बताएको छ । प्राधिकरणले दिएको १५ दिने अल्टिमेटमको समय यसै हप्ता सकिदैछ ।

तर युटिएलले भने सर्वाेच्चको आदेश ल्याएपछि बक्यौता उठाउने तथा लाईसेन्स खारेज गर्ने प्रक्रिया रोकिएको छ । अन्य कम्पनीहरुको लाईसेन्स भने तोकिएको मितिभित्र बक्यौता नबुझाएस स्वतः खारेज हुने प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL