Logo

टेलिकमबाट भियामोको एनटी सूचनाको संसार सेवा, विना पैसा स्वास्थ्य उपचार देखि कृषि सम्मको जानकारी

टेलिकमबाट भियामोको एनटी सूचनाको संसार सेवा, विना पैसा स्वास्थ्य उपचार देखि कृषि सम्मको जानकारी



काठमाडौं । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा उपलब्ध गराएको छ । टेलिकमले कृषि, स्वास्थ्य, समाचार, मौसम लगायतका जानकारी कल–इन सिष्टममार्फत दिनेगरी उक्त भियामोसँग साझेदारी गरी आईतबारदेखि सेवा संचालनमा ल्याएको हो ।

जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी जानकारी निःशुल्क रुपमा लिन सकिन्छ । टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

यसरी कल गर्दा मोबाइल प्रयोगकर्ताहरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् । यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ ।

सार्वजनिक सेवाका लागि आवश्यक विभिन्न जानकारीहरु भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार पारेको हो । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञहरु समेत संलग्न छन् ।

विभिन्न जानकारीहरु नेपाली भाषामा सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास लिएको टेलिकमले जानकारी दिएको छ । टेलिकमले यो सुविधा हाललाई ६ महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL