Logo

दूरसञ्चार प्राधिकरणमा सरकारले माग्यो अध्यक्ष, यस्तो हुनुपर्नेछ योग्यता

दूरसञ्चार प्राधिकरणमा सरकारले माग्यो अध्यक्ष, यस्तो हुनुपर्नेछ योग्यता



काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त रहेको अध्यक्ष पदको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको छ । मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै रिक्त उक्त पदका लागि असार ९ गतेसम्म दरखास्त बुझाउन आह्वान गरेको हो । अध्यक्षका लागि ३० बर्षदेखि ६५ बर्ष भित्रका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

दूरसञ्चार क्षेत्रसँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरिक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

प्राधिकरणको अध्यक्ष हुन सम्बन्धित क्षेत्रमा कम्तीमा १० बर्षको अनुभव हासिल गरेको हुनुपर्ने अनुभव पनि मन्त्रालयले तोकेको छ । त्यस्तै कुनै सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्राकिंत प्रथम श्रेणी, दशौं तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव भएकाले पनि आवेदन बुझाउन सक्नेछन् ।

आवेदन बुझाउँदा शैक्षिक उपलब्धीका प्रमाणपत्र, अनुभव खुल्ने प्रमाणको प्रतिलिपि र दरखास्त साथ उम्मेदवारले आफ्नो योग्यता सम्बन्धी स्वघोषणा गर्नुपर्नेछ । उम्मेदवारले पेश गरेको व्यावसायीक कार्ययोजना, त्यसको प्रस्तुतिकरण र अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभवको मुल्यांकन गरि नियुक्तिका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ ।

यसअघि गत भदौ २२ गते प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झाले चर्को आलोचना पछि पुष ११ गते राजिनामा दिएका थिए । उनी पछि रिक्त रहेको उक्त पदमा सरकारले प्राधिकरणकै वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई विगत चार महिनायता कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । खनाललाई ६ महिनासम्मको लागि कार्यवाहक दिने निर्णय मन्त्रालयले गरेको थिए । दुई महिनापछि उक्त पद रिक्त हुनु अघि नै सरकारले आवेदन माग गरेको हो । मन्त्रालयले प्राधिकरणभित्रबाटै अध्यक्ष चयन गर्ने तयारी गरेको स्रोतहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL