Logo

एक बर्षमा इन्टरनेट चलाउनेको संख्या ४२ लाखले बढे, फोरजीमा एनसेलको राज, थ्रीजीमा टेलिकम

एक बर्षमा इन्टरनेट चलाउनेको संख्या ४२ लाखले बढे, फोरजीमा एनसेलको राज, थ्रीजीमा टेलिकम



काठमाडौं । पछिल्लो १ बर्षमा मात्रै ईन्टरनेट चलाउनेको संख्या ४३ लाखले बढेको छ । दूरसंचार क्षेत्रको नियामकिय निकाय दूरसंचार प्राधिकरणको एमआईएस रिपोर्ट अनुसार २०७५ को चैतसम्म ईन्टरनेट चलाउनेको संख्यामा उक्त वृद्धि भएको हो ।

२०७४ को चैतसम्म ब्रोडब्यान्ड ईन्टरनेट चलाउनेको संख्या १ करोड ३८ लाख ५८ हजार रहेकोमा २०७५ को चैतसम्म उक्त संख्या बढेर १ करोड ८२ लाख ४८ हजार पुगेको हो । तथ्याङ्क अनुसार १ बर्षको अवधिमा फोरजी ईन्टरनेट चलाउने मानिसको संख्या मात्रै १९ लाख ३२ हजारले बढेको छ ।

उक्त अवधिमा नेपाल टेलिकमको फोरजी सेवा चलाउने ग्राहकको संख्यामा भनेअनुसार वृद्धि नभएपनि निजी दूरसंचार सेवा प्रदायक एनसेलको फोरजी सेवा चलाउने ग्राहकको संख्यामा भने एक बर्षमा १६ लाख २० हजारले वृद्धि भएको देखिन्छ । तर सोही अवधिमा नेपाल टेलिकमले भने आफ्ना फोरजी सेवा चलाउने ग्राहकको संख्यामा १ लाख ८५ हजारले मात्रै वृद्धि गरेको छ ।

२०७५ को चैतसम्म नेपाल टेलिकमले आफ्नो फोरजी सेवा उपयोग गर्ने ग्राहकको संख्या ७ लाख ४४ हजार पुर्याउँदा एनसेलले भने ३३ लाख ४३ हजार पुर्याएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ । यस्तै नेपाल सरकारको लगानी रहेको टेलिकमले आफ्नो फोरजी सेवा विस्तार गर्न ढिलाई गर्दा ग्राहकको संख्यामा वृद्धि हुन नसकेको जानकारी दिएको छ ।

टेलिकमको फोरजी सेवा हाल काठमाडौं उपत्यका र पोखरामा मात्रै सिमित छ । यस्तै निजी सेवाप्रदायक एनसेलले भने सातै प्रदेशका आफ्नो फोरजी सेवा पुर्याएको छ । हाल देशभरका १ हजारभन्दा बढी स्थानमा आफ्नो फोरजी सेव पुगेको एनसेलले जानकारी दिएको छ । तर, नेपाल टेलिकमले भने हालै मात्रै नेपालभर फोरजी सेवा नेपालभर विस्तार गर्न २ वटा कम्पनीलाई जिम्मा दिई २० प्रतिशत बढी काम भईसकेको जानकारी दिएको छ ।

नेपाल टेलिकमले एनसेलभन्दा अघि नै आफ्नो फोरजी सेवा संचालनमा ल्याए पनि सोही अनुरुप विस्तार गर्न नसक्दा ग्राहक तथा पहँुच बढाउन सकेको छैन । तर थ्रीजी सेवा प्रयोगकर्ताका आधारमा भने नेपाल टेलिकम एनसेलभन्दा २४ लाखले अगाडी छ । २०७५ चैतसम्म एनसेलको थ्रीजी सेवा चलाउनेको संख्या ४१ लाख ८१ हजार पुग्दा नेपाल टेलिकमको ग्राहक संख्या भने ६५ लाख ८२ हजार रहेको छ । २०७४ को चैतमा कुल थ्रीजी सेवाका प्रयोगकर्ता ९१ हजार हुँदा नेपाल टेलिकमका थ्रीजी प्रयोगकर्ता ४० लाख २८ हजार थिए भने एनसेलको थ्रीजी प्रयोगकर्ता ५१ लाख ४१ हजार थिए ।

सरकारले सन २०२० सम्म नेपालभर ब्रोडब्यान्ड ईन्टरनेट पुर्याउने नीति अघि सारेको छ । सोही अनुसार कुल जनसंख्याको ६१ दशमलव ८३ प्रतिशत जनसंख्यामा ब्रोडब्यान्ड ईन्टरनेट सेवा पुगेको छ । यस्तै भ्वाईस सेवा भने कुल जनसंख्या भन्दा १ सय ३७ प्रतिशत बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL