Logo

सबै जनतालाई सेवा दिन विकट क्षेत्रमा टेलिकम, लागत बढी नाफा कम

सबै जनतालाई सेवा दिन विकट क्षेत्रमा टेलिकम, लागत बढी नाफा कम



काठमाडौं । नेपाल टेलिकमले नाफालाई मात्रै ध्यानमा नराखी मुलुकका विभिन्न विकट स्थानमा आफ्नो मोबाईल सेवाको पहुँच पुर्याईरहेको छ । यसै क्रममा टेलिकमले लागत बढी लाग्ने तर नाफा भने कम फिर्ता हुने रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा विस्तार गरेको हो ।

हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पु¥याउन सफल भएको हो । कम्पनीले ४ हजार २ सय ९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ ।

यसबाट सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुन टेलिकमको भनाई छ । रसुवाकै ३ हजार २ सय ४२ मिटर उचाईमा अवस्थित लाङटाङ पदमार्गमा पनि अर्को बीटीएस टावर स्थापना गरिएको छ । यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् ।

ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराइएको टेलिकमले जानकारी दिएको छ । ३ हजार ८ सय २५ मिटर उचाईमा अवस्थित टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुने टेलिकमको भनाई छ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुनेछन ।

डोल्पाको मुकोट र शे फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३ सय १६ मिटर उचाईको मुकोटमा अवस्थित टावरमार्फत छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ । त्यसैगरी ३ हजार ७ सय ४ मिटरको से फोक्सुन्डोमा अवस्थित टावरमार्फत से फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत करिब २ हजार सेवाग्राहीले सेवा पाउन सक्नेछन् ।

यसैगरी कम्पनीले हालै मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित छन् । यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको शुरुवात भएको छ । यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका वासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने टेलिकमको दावी छ ।

दुर्गम तथा विकट ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी मोबाइलको पहुँच पु¥याइएको टेलिकमले जानकारी दिएको छ । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL