Logo

वीच्याटमाथी राष्ट्र बैंकको प्रतिबन्ध, आर्थिक कारोबार गरे विदेशी मुद्रा अपचलन अन्तरगत कारबाही

वीच्याटमाथी राष्ट्र बैंकको प्रतिबन्ध, आर्थिक कारोबार गरे विदेशी मुद्रा अपचलन अन्तरगत कारबाही



काठमाडौं । नेपाल राष्ट्र बैंकले वीच्याटमाथी प्रतिबन्ध लगाएको छ । वीच्याट, अलिपेजस्ता विदेशबाट जारी भएका पेमेन्ट गेटवेबाट विदेशी मुद्रा अपचलन (हुण्डी) भएको भन्दै आर्थिक कारोबार गर्न रोक लगाएको हो ।

विदेशी पेमेन्ट सिस्टमसँग प्रत्यक्ष आवद्ध भएका जुनसुकै क्युआर कोड,पस मेशिन तथा वीच्याट, अलि पेजस्ता विदेशी मुलुकबाट जारी भएका पस मेसिन सिस्टमको प्रयोग नगर्न समेत राष्ट्र बैंकले सूचना जारी गरेको छ । त्यस्तो पेमेन्ट गेटवेमार्फत कारोबार गर्नु गैरकानूनी घोषित गर्दै राष्ट्र बैंकले रोक लगाएको हो । यदि कसैले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त संस्थाबाहेक वीच्याट, अलि पेजस्ता सामाजिक संजालमार्फत आर्थिक कारोबार गरेमा विदेशी विनिमय अपचलन अन्तरगत कारबाही गरिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

विशेषगरी चीनसँगको व्यापारमा वीच्याटमार्फत खुलेआम हुण्डी कारोबार हुनथालेपछि राष्ट्र बैंकले यसलाई गैरकानूनी घोषणा गर्दै प्रतिबन्ध लगाएको हो । पछिल्लो समय वीच्याट, अलि पेजस्ता पेमेन्ट गेटवेमार्फत गैरकानूनी रुपमा पैसा बाहिरिन थालेको सूचना प्राप्त भएसँगै त्यसलाई प्रतिबन्ध नै लगाउनु परेको राष्ट्रले जानकारी दिएको छ ।

बिजखबरले २०७४ चैत ६ गते पहिलो पटक ‘हुण्डीको नयाँ रुपमा ‘वीच्याट’, नेपालबाट चीनमा यसरी बाहिरिन्छ पैसा’ भन्ने शिर्षकमा पहिलो पटक खोजमुलक समाचार प्रकाशित गरेको थियो । हालसम्म वीच्याटको सम्बन्धमा बिजखबरले आधादर्जन भन्दा बढी समाचार प्रकाशित गरिसकेको छ । वीच्याटमार्फत नगदको कारोबार गर्नु नपर्ने र सम्बन्धित देशको एउटा खाताबाट अर्को खातामा रकम जम्मा गर्न सकिने भएकाले पनि पछिल्लो समय हुण्डीको नयाँ विकल्पको रुपमा वीच्याटको प्रयोग भइरहेको छ ।

वीच्याटमार्फत चीनतर्फको व्यापार व्यवसायमा हुण्डी कारोबार हुने गरेको स्रोतले बताए । अहिले नेपालका होटल रेष्टराँ तथा अन्य व्यापारिक क्षेत्रमा चिनियाँको संलग्नता धेरै छ । तर, उनीहरुले बैंकिङ प्रणालीमार्फत नभई वीच्याटमार्फत हुण्डी कारोबार गर्दै राज्यलाई ठगिरहेका सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

समाचार प्रकाशित भएपछि अर्थ मन्त्रालय तथा आन्तरिक राजस्व कार्यालयले सो सम्बन्धमा छानविन प्रक्रिया अघि बढाएको थियो भने वीच्याटमार्फत कारोबार गर्ने ५ जनालाई पक्राउ गरी मुद्दा समेत दायर गरेको थियो । हाल आन्तरिक राजस्व कार्यालयले वीच्याट लगायतका सामाजिक संजाललाई नियमन गर्ने भन्दै इकमर्श सम्बन्धी छुट्टै नियम समेत बनाउन लागेको छ ।
चीनबाट आउने पर्यटकले नेपालमा नगद भुक्तानी नगर्ने र उनीहरुले सामान खरिद गरे वा खाना खाए भने क्युआर(क्वीक रेस्पोन्स) कोडमार्फत वीच्याटमार्फत भुक्तानी गरेको पाईएको छ । जसको कारोबार नेपालमा नभई चीनको एक बैंकबाट अर्को बैंकमा हुन्छ । चिनियाँ पर्यटकले वीच्याटमार्फत भुक्तानी गर्दा नेपाली व्यवसायीहरु समस्यामा पर्नुका साथै राज्यले समेत ठूलो मात्रामा राजस्व गुमाइरहेको छ ।

चीनसँगको व्यापारमा हुण्डी कारोबार चीनबाट सामान आयात गर्ने व्यापारीहरुले पनि हुण्डीमार्फत नै पैसा पठाएर सामान आयात गर्ने गरेका छन् । व्यवसायीहरुले डलरमा एलसी (लेटर अफ क्रेडिट) खोल्नुको सट्टा नेपालस्थित चिनियाँ व्यापारीलाई नेपाली रुपैयाँ दिएर चीनमा युआन लिएर सामान आयात गर्दै आएको सम्बद्ध व्यवसायीहरु नै बताउँछन् ।

वीच्याट सम्बन्धी बिजखबरले लेखेका केही समाचारको लिंकहरु :-

वीच्याटबाट हुने कारोबारको अनुगमन गर्दै आन्तरिक राजस्व विभाग, ई–कमर्शलाई नियमन गर्न छुट्टै कानुन

वीच्याटबाट हुण्डी कारोबार गर्नेमाथी प्रहरीको निगरानी, ५३ लाख सहित ५ जना पक्राउ

हुण्डीको नयाँ रुपमा ‘वीच्याट’, नेपालबाट चीनमा यसरी बाहिरिन्छ पैसा

प्रतिक्रिया दिनुहोस्
MBL