Logo

नेपाल टेलिकमको विद्यार्थी अफर, निशुल्क सिममा यस्ता छन सुविधा

नेपाल टेलिकमको विद्यार्थी अफर, निशुल्क सिममा यस्ता छन सुविधा



काठमाडौं । नेपाल टेलिकमले एसईई दिएका र अन्य विद्यार्थीहरुका लागि विभिन्न विद्यार्थी अफर सार्वजनिक गरेको छ । टेलिकमले केही बर्षअघि देखि सुरु गरेको उक्त अफर यो बर्ष पनि विद्यार्थीलाई मध्येनजर गर्दै सार्वजनिक गरेको हो ।

कम्पनीले उक्त अफर अन्तर्गत अन्तर्गत विद्यार्थीहरुलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ । सो रकम मध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको टेलिकमले जानकारी दिएको छ ।

यसका साथै ‘विद्यार्थी अफर’ अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराउने व्यवस्था छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।
त्यसैगरी सो अफर अन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सो भन्दा बढी रकम रिचार्ज गर्दा समेत १ वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनस अन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसके पछि यो सुविधा ३ दिन भित्र उपभोग गरिसक्नु पर्नेछ ।

निःशुल्क सिम उपलब्ध गराइने उक्त अफर अन्तर्गत विविध सहुलियत एवं सुविधा तथा वोनस उपहारसमेत भएकोले यो अफर विद्यार्थीहरुबीच लोकप्रिय भइरहेको छ ।

यस अफर अन्तर्गत उपलब्ध सुरुको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्क भित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने छ । यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइनेछ । अफर अन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक बर्ष सम्म उपलब्ध हुनेछ ।

एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका बिद्यार्थीहरुलाई बिद्यार्थी अफरको सिम उपलब्ध गराउने व्यवस्था गरिएको छ । एसईई दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपी उपलब्ध गराउनु पर्नेछ ।

त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपी उपलब्ध गराउनु पर्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL