Logo

पहिलो पटक नेपालको आफ्नै स्याटेलाईट अन्तरिक्षमा, एकैचोटी अवतरण भए २८ स्याटेलाईट

पहिलो पटक नेपालको आफ्नै स्याटेलाईट अन्तरिक्षमा, एकैचोटी अवतरण भए २८ स्याटेलाईट



काठमाडौं । पहिलो पटक नेपालको आफ्नै स्याटेलाईट अन्तरिक्ष केन्द्रमा अवतरण गरेको छ । आज बिहान २ बजे अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट पठाइएको उक्त स्याटेलाईट पृथ्वीबाट प्रक्षेपण गरेको ५० मिनेटमा अन्तरिक्षमा अवतरण गरेको हो ।

नेपाली समय अनुसार बिहान २ बजे प्रक्षेपण केन्द्रबाट उडेको रकेटले नेपाली झण्डा वाहक उक्त स्याटेलाईटलाई ५० मिनेटमा अन्तरिक्षमा पुर्याएको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) को पहलमा १ किलो ३ सय ग्रामको उक्त नानो स्याटेलाइट संयुक्त राष्ट्र संघको सहकार्यमा जापानको क्युसु इस्टिच्युट अफ टेक्नोलोजीमा बर्डस् परियोजनाअन्तर्गत विकास गरिएको हो ।

नेपाली वैज्ञानिकद्वय आभाष मास्के र हरिराम श्रेष्ठलगायत ८ बैज्ञानिकले ‘नेपालीस्याट १’ नाम दिईएको उक्त स्याटेलाइट तयार गरेका हुन् ।

आज बिहान अन्तरिक्षमा पठाईएको उक्त स्याटेलाइट करिब एक महिना अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा रहने छ । एक महिनाको परीक्षणपछि मात्र त्यसलाई पृथ्वीको कक्षमा स्थापना गरिने छ ।

स्याटेलाईटले जलबायु परिवर्तनसम्बन्धी अध्ययन तथा शहरी विकास योजनाको तयारीजस्ता कार्यमा सहयोग पुग्नेछ । रिमोट सेन्सिङ सुविधा भएकाले त्यसले विपद पूर्व सूचनामा पनि सघाउने छ ।

नेपाली स्याटेलाईटसँगै एउटै पेलोडमा विभिन्न देशका तथा कम्पनीका २८ ओटा स्याटेलाईट अन्तरिक्षमा पठाईएको छ । एउटै रकेटको प्रयोग गरी २८ ओटा स्याटेलाईट अन्तरिक्षमा पठाएकै कारण नेपाली स्याटेलाईटलाई अन्तरिक्षमा पुर्याउन लागत कम लागेको नाष्टले जानकारी दिएको छ ।

नेपालीस्याटले पठाउने सूचनाको अनुगमन तथा संकलन गर्नका लागि नास्टले आफ्नै परिसरमा ग्राउण्ड स्टेशन पनि निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL