Logo

टेलिकमका प्रवन्ध निर्देशकले गरे पदभार ग्रहण, रोकिएका कामलाई तिव्रता दिने अठोट

टेलिकमका प्रवन्ध निर्देशकले गरे पदभार ग्रहण, रोकिएका कामलाई तिव्रता दिने अठोट



काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन । सोमबार एक कार्यक्रमका बीच उनले कम्पनीको केन्द्रिय कार्यालयमा पदभार ग्रहण गरेका हुन । उनलाई पुस १९ गतेको मन्त्रीपरिषदले ३ बर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो ।

आफ्नो कार्यभार सम्हाल्दै प्रबन्ध निर्देशक अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गरेका छन । उनले काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने पनि जानकारी दिएका छन ।

उनले परिवर्तनशील प्रविधि र ग्राहकको माग तथा चाहनामा हुने परिवर्तनलाई समयानुकुल सम्बोधन गर्दै लैजाने, ब्याकबोन नेटवर्कलाई भरपर्दो र गुणस्तरीय बनाइने, फोरजी परियोजनालाई समयमा सम्पन्न गरिने लागायतका कुराहरुलाई जोड दिने बताएका छन ।
१ करोड लाइन क्षमताको टुजी र थ्रीजी परियोजनालाई यथाशीघ्र सम्पन्न गरिने, मोबाइल डाटाको प्रयोग बढाउनका लागि कार्यक्रम ल्याइने, एफटीटीएच सेवालाई मूख्य सहरहरु तथा पकेट क्षेत्रहरुमा विस्तार गरिने र कपर नेटवर्कलाई प्रतिस्थापन गरिने पनि बताएका छन ।
उनी यस अघि प्रबन्ध निर्देशकको कार्यालयमा प्रबन्धक पदमा कार्यरत थिए । उनी तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा २०५९ फागुन २२ गते टेलिकम इन्जिनियर पदमा प्रवेश गरेका हुन । उनी २०६५ मा बरिष्ठ इन्जिनियर, २०७० मा उप–प्रबन्धक र २०७५ बैशाख १६ देखि प्रबन्धक पदमा कार्यरत थिए ।

यस बीचमा उनी कम्पनीका विभिन्न निर्देशनालय र विभागहरुमा कार्यरत थिए । उहाँमा एक्सेस नेटवर्क, ट्रान्समिसन नेटवर्क, वायरलेस ब्रोडब्यान्ड एक्सेस, अन्तर्राष्ट्रिय व्यापार, ब्याकबोन ट्रान्समिसन आदि क्षेत्रको साथै कम्पनीको सह–प्रवक्ता र नोडल अधिकृत समेतको कार्य अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL