Logo

रिक्त रहेको ४ महिनापछि टेलिकममा प्रबन्ध निर्देशक माग, को बन्ला सवा खर्ब सम्पत्तिको हाकिम ?

रिक्त रहेको ४ महिनापछि टेलिकममा प्रबन्ध निर्देशक माग, को बन्ला सवा खर्ब सम्पत्तिको हाकिम ?



काठमाडौं । सरकारले आफ्नो अधिकांश सेयर रहेको नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि आवेदन माग गरेको छ । करिब चार महिना रिक्त रहेको उक्त पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शनिबार दरखास्त माग गरेको हो ।

यसअघि गत साउन २९ गतेको मन्त्रीपरिषद बैठकले तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभन्डारीलाई पदमुक्त गर्ने निर्णय गरेपछि टेलिकम नेतृत्व विहिन रहँदै आएको छ । मन्त्रालयले यसबीचमा सूर्यभक्त पोखरेललाई कायम मुकायमको जिम्मेवारी दिएको थियो ।

नाफामा रहेको टेलिकमको प्रबन्ध निर्देशक पदको नियुक्तिमा धेरैको चासो हुने गर्छ । करिब एक खर्ब २० अर्बभन्दा बढी सम्पत्ति रहेको यो कम्पनीको हाकिम बन्न राजनीतिक लबिङ सुरु भइसकेको छ । प्रबन्ध निर्देशक पदका लागि टेलिकमकै कर्मचारीहरु सुनिल पोखरेल र प्रबन्धक डिल्ली अधिकारीको चर्चा बाहिर आएको छ । यसबाहेक टेलिकमका पूर्व कर्मचारीहरु पनि उक्त पदका लागि निकै सक्रिय भएर लागिरहेका छन् । हाल कामुको जिम्मेवारी पाएका सुर्यभक्त पोखरेल पनि दावेदार मानिन्छन । अहिलेका प्रमुख प्राविधिक अधिकृत मच्युतानन्द वैद्यको पनि नाम चर्चामा  रहेको छ ।

शनिबार आह्वान गरिएको दरखास्तमा वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेशन इन्जिनियरिङ, कम्प्यूटर इन्जिनियरिङ मध्ये कुनै विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख छ ।

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको अधिकृत स्तरको पदमा कम्तीमा १५ बर्ष काम गरेको तर त्यस्तो अवधिमध्ये कम्तीमा ५ बर्ष वरिष्ठ अधिकृत वा व्यवस्थापकको पदमा काम गरेको हुनुपर्ने अनुभवसहितको उम्मेदवार माग गरिएको छ ।

सुचना तथा संचार प्रविधि मन्त्रालयले सोमबार सचिव महेन्द्रमान गुरुङ्को संयोजकत्वमा नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोट गर्नका लागि ३ सदस्सिय टोली गठन गरेको थियो । आवेदकले पुष ११ गतेसम्म आवेदन दिन सक्ने छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL