Logo

१ महिनामा साढे ३ लाखले बढे मोबाईल फोन प्रयोगकर्ता, पौने ४ करोडले बोक्छन मोबाईल

१ महिनामा साढे ३ लाखले बढे मोबाईल फोन प्रयोगकर्ता, पौने ४ करोडले बोक्छन मोबाईल



काठमाडौं । पछिल्लो समय नेपालमा मोबाईल चलाउनेको संख्या दिनानुदिन बढदै गईरहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याँक अनुसार गत असार मशान्तदेखि साउन मसान्तसम्म ३ लाख बढीले मोबाईल प्रयोगकर्ताहरु बढेको पाईएको छ ।

विभिन्न दुरसञ्चार सेवा प्रदायकहरुको तथ्यांक अनुसार गत असारमा मोबाईल टेलिफोन प्रयोगकर्ताको संख्या ३ करोड ८३ लाख ३९ हजार रहेकोमा गत साउनमा सो संख्यामा ३ लाख ६० हजारले वृद्धि भई ३ करोड ८६ लाख ९९ हजार पुगेको हो ।

साउन महिनाको मसान्तसम्मको तथ्यांक अनुसार हाल नेपालमा  जिएसएम मोबाईल चलाउनेको संख्या ३ करोड ६६ लाख रहेको छ भने सिडिएमए चलाउनेको संख्या भने जम्मा २ लाख ७६ हजार मात्रै छ ।

नेपालकै ठुलो दुरसंचार सेवा प्रदायक मानिएको नेपाल टेलिकम एनसेलभन्दा मोबाईल टेलिफोन सेवा वितरणमा अघि रहेपनि ईन्टरनेट वितरणमा भने पछाडी रहेको देखिन्छ ।

नेपालमा मोबाईल ईन्टरनेट प्रयोगकर्ता १ महिनामै साढे २ लाख बढीले बढेको पाईएको छ । प्राधिकरणले सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार विभिन्न सेवाप्रदायकमार्फत मोबाईल ईन्टरनेट चलाउने सेवाग्राहिको संख्या १ महिनामै २ लाख ५४ हजार ८ सय १४ जनाले वृद्धि भएको हो ।

गएको असार महिनासम्म मोबाईलमा ईन्टरनेट चलाउनेहरुको संख्या १ करोड १६ लाख रहेकोमा साउनमा भने सो संख्या बढेर १ करोड १९ लाख पुगेको हो ।

प्राधिकरणका अनुसार मोबाईलमा ईन्टरनेट चलाउनेको संख्या एनसेल भन्दा नेपाल टेलिकमका ग्राहकहरु ६ लाख ६५ हजारले कम छन । तथ्यांकका आधारमा नेपाल टेलिकमको मोबाईल ईन्टरनेट ग्राहकको संख्या कम रहेको देखिएको हो । असारमा नेपाल टेलिकमको मोबाईल ईन्टरनेट थ्रिजी चलाउनेहरुको संख्या ४७ लाख २ हजार रहेकोमा साउनमा भने सो ग्राहकको संख्या बढेर ४९ लाख १५ हजार पुगेको छ ।
यता नेपाल टेलिकमकै मोबाईलमा फोरजी इन्टरनेट चलाउनेहरुको संख्या पनि उत्तिकै मात्रामा बढेको देखिन्छ । असारमा ६ लाख ५ हजार रहेको फोरजी चलाउनेको संख्यामा वृद्धि भई साउनमा उक्त संख्या ६ लाख २१ हजार पुगेको छ । उता एनसेलको भने मोबाईलमा थ्रिजी इन्टरनेट चलाउनेको संख्या ४९ लाख रेहेको छ भने फोरजी इन्टरनेट चलाउनेको संख्या ११ लाख रहेको छ । जुन नेपाल टेलिकमको भन्दा ५ लाख ७३ हजारले बढी हो ।

त्यस्तै नेपाल टेलिकम मोबाईल टेलिफोनका ग्राहकको संख्यामा भने एनसेल भन्दा अघी रहेको पाइएको छ । गएको साउन महिनाको अन्त्यसम्म नेपाल टेलिकमको मोबाईल टेलिफोन प्रयोगकर्ता १ करोड ९४ लाख ४९ हजार रहेकोमा एनसेलको भने जम्मा १ करोड ६५ लाख ८४ हजार जना रहेको पाईएको छ । यो संख्या भनेको झन्डै २९ लाखले बढी हो ।

तसर्थ नेपाल टेलिकम भने एनसेलसंग मोबाईल ईन्टरनेट वितरणमा पछि र मोबाईल टेलिफोनमा सेवाको वितरणमा अगाडी देखिएको छ । तर नेपाल टेलिकमको मोबाइल टेलिफोन प्रयागकर्ताको वृद्धिदर भने बढ्दो छ । नेपाल टेलिकमका मोबाईल टेलिफोन ग्राहकहरुको संख्या साउनमा १ करोड ९१ लाख ७२ हजार रहेकोमा उक्त संख्या १ महिनामा २ लाख ७६ हजारले बढ्दै असारमा १ करोड ९४ लाख ४९ हजार पुगेको हो । यो भनेको नेपाल टेलिकमको टेलिफोन प्रयोगकर्ताहरु १ महिनामा २ लाख ७६ हजारले बढे भन्नु हो । त्यस्तै एनसेलले भने आफ्ना मोबाईल टेलिफोन ग्राहकहरुको संख्यामा त्यति सुधार ल्याउन सकेन । एनसेलले १ महिनामा ५४ हजार जनामात्रै मोबाइल टेलिफोन प्रयोगकर्ताहरु बढाएको देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL