Logo

टेलिकमको ग्राहक संख्या र आम्दानीमा बृद्धि, नयाँ कार्ययोजना सहित यसरी गर्दैछ सेवा विस्तार

टेलिकमको ग्राहक संख्या र आम्दानीमा बृद्धि, नयाँ कार्ययोजना सहित यसरी गर्दैछ सेवा विस्तार



काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक बर्षमा आफ्नो ग्राहक संख्या र आम्दानी दुबैमा बृद्धि गरेको छ । टेलिकमले आर्थिक बर्ष २०७४ ७५ को तथ्याँक सार्वजनिक गर्दै आम्दानी तथा ग्राहक संख्या बृद्धि भएको जानकारी दिएको हो ।

टेलिकमको तथ्याँक अनुसार गत बर्ष कम्पनीको आम्दानी २ दशमलव १९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत बर्ष कुल आम्दानी ४५ अर्ब ५६ करोड ५८ लाख गर्दा १५ अर्ब ६६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आबमा कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो आबको तुलनामा १ दशमलव ९६ रुपैयाँले बृद्धि भई १ सय ४ रुपैयाँ ४५ पैसा पुगेकोे छ । कम्पनीले केही बर्ष अघिदेखि शुरु गरेको एकिकृत विलिङ प्रणालीमा ल्यान्डलाईन सेवा समेत रुपान्तरित भएपश्चात गत बर्षमा नै सो आयोजना सम्पन्न गरेको छ ।

यस्तैगरी लामो समय देखि सञ्चालनमा रहेका ल्याण्ड लाइन सेवाका पुराना उपकरणहरु विस्थापन गरी टिडीएम माइग्रेसन आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरण मार्फत सेवा प्रदान गर्न सुरु गरिएको पनि कम्पनीले जानकारी दिएको छ ।
उक्त कार्य अनुरुप हालसम्म करिव १ लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको छ । क्रमिक रुपमा अन्य लाइनहरु पनि रुपान्तरण गर्ने कार्य जारी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७५ जेठ मसान्त सम्ममा कम्पनीका टेलिफोन ग्राहक आधार १ करोड ९७ लाख ४७ हजार ४ सय ४५ रहेको छ । यसैगरी इन्टरनेट ग्राहक आधार १ करोड ६ लाख ५२ हजार ४ सय २९ छ । यसरी २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २ सय २३ र इन्टरनेटतर्फ २२ लाख २६ हजार ५ सय ३५ ले बृद्धि भएको हो ।

यसका साथै कम्पनीको अघिल्लो आबमा ४९ प्रतिशत रहेको बजार हिस्सा पनि २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशतमा पुगेको छ ।
कम्पनीले हाल मध्यपहाडी लोकमार्गमा अप्टीकल फाइबर विछ्याउन ५ ओटा बोलपत्र आह्वान पनि गरेको छ । साथै पहाडी जिल्लाका सदरमुकामहरुमा सञ्चालनमा रहेको एडीएसएस आयोजनामार्फत १ हजार किलोमिटर अप्टिकल फाइवर विस्तार कार्य चालु आर्थिक वर्षको प्रथम त्रैमासिक भित्र सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ ।

यसका साथै कम्पनीले अबका दिनमा कम्पनीलाई चुस्त र दुरुस्त रुपमा अगाडी बढाउन विभिन्न विकास गर्ने भएको छ ।

कम्पनीले काठमाडौं तराइ द्रुतमार्गमा नेपाली सेनासंग सहकार्य गरी भूमिगत रुपमा अप्टिकल फाइबर विछ्याउने भएको छ । साथै मुलुकका सातै प्रदेशमा फोरजी नेटवर्क विस्तारको लागि बोलपत्र आह्वान गरिसकेको तथा चालु आबमा प्रत्येक प्रदेशमा नेटवर्क विस्तार गरिसक्ने लक्ष्य लिएको जानकारी दिएको छ । कम्पनीले चालु आबमा नेपालका प्रायजसो क्षेत्रमा ५ सय १२ केविपीएस क्षमताको इन्टरनेट सुविधा प्रत्येक स्वास्थ्य संस्था तथा विद्यालयहरुमा पुर्याउने पनि लक्ष्य लिएको छ ।

कम्पनीले जीएसएम मोवाइल सेवामा चालु आर्थिक वर्षमा पोष्टपेडतर्फ ५९ हजार ८ सय ३० लाइन र प्रिपेडतर्फ २५ लाख ५० हजार मोबाइल लाइन बितरण गर्ने लक्ष्य लिइएको छ । साथै कम्पनीले सीडीएमए प्रविधिका ८१ हजार ६ सय २ लाइन टेलिफोन वितरण गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL