Logo

टेलिकमको अप्टिकल फाइबर विछ्याउने काम अन्तिम चरणमा, १ हजार किमि विछ्याउँदै

टेलिकमको अप्टिकल फाइबर विछ्याउने काम अन्तिम चरणमा, १ हजार किमि विछ्याउँदै



काठमाडौं । नेपाल टेलिकमले बैशाख मसान्तसम्म ३ सय ७५ किलोमिटर अप्टिकल फाइबर विछ्याउने कार्य सम्पन्न गरेको छ ।

कुल १ हजार किलोमिटर अप्टिकल फाइबर विछ्याउने लक्ष्य लिएकोमा २०७५ असार मसान्तसम्ममा पहिलो चरणको ४ सय किलोमिटर अप्टिकल फाइबर विछ्याउने काम अन्तिम चरणमा पुगेको हो । बैशाख मसान्तसम्म ३ सय ७५ किलोमिटर फाइबर विछ्याउने कार्य सम्पन्न भैसकेको टेलिकमले जानकारी दिएको छ ।

आफ्ना सेवाहरुको स्तरोन्नती गर्दै सेवाको गुणस्तर बृद्धि गर्न अप्टिकल फाइबर नेटवर्क विस्तार कार्यलाई तीव्रता दिएको नेपाल टेलिकमले देशका विभिन्न क्षेत्रमा अप्टिकल फाइबर विछ्याउने कार्य गरिरहेको छ । अव असार मसान्तसम्म थप १ सय ७५ किलोमिटर नेटवर्क जडान गर्ने कार्य सम्पन्न हुने कम्पनीको दावी छ ।

यसका साथै आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रथम चौमासिक अवधिमा बाँकी ४ सय ५० किलोमिटर थप जडान कार्य सम्पन्न गरी कुल १ हजार किलोमिटर अप्टिकल फाइबर नेटवर्क तयार गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

हालसम्म सम्पन्न भएका नेटवर्कहरुमा बसन्तपुर–तिरतिरे–पिलुवा–चैनपुर–तुम्लिङटार–खादबारी, हिले–भोजपुर, डडेलधुरा–दिपायल, दिपायल–सिलगढी–साँफेबगर–मंगलसेन र लमही–तुलसिपुर रहेका छन् ।

त्यसतै तामाकोशी पुल खिम्ती मन्थली सिन्धुली बीचको १ सय १५ दशमलब ८० किमी मध्ये ९० किमी सम्पन्न भएको छ । बेनी जोमसोम खण्डको १ सय १३ दशमलब ४४ किमी मध्ये ९५ किमी अप्टिकल फाईबर जडानकार्य सम्पन्न भईसकेको छ ।

बुड्डी–बिजगौरी, तौलिहवा–मर्यादापुर, डण्डाबजार–चोरमारा, तौलिहवा–बहादुरगञ्ज र कोहलपुर–लम्कीलाई जोड्ने १ सय ६३ दशमलब २ किमि लामो अन्डरग्राउन्ड अप्टिकल फाइबर नेटवर्क हाल जडान तथा परीक्षण सम्पन्न भई सञ्चालनको तयारी भइरहेको टेलिकमले जानकारी दिएको छ ।

त्यसतै केरखा–कोरोबारी र गौरादह–कोहोबारा जोड्ने अप्टिकल नेटवर्क जडान सम्पन्न भई स्प्लाइसिङ र टेस्टिङको चरणमा रहेको छ । स्याफ्रुबेसी–रसुवागढी १५ किमि मध्ये १० किलोमिटर ट्रेन्चिङ र डक्टिङ कार्य सम्पन्न भइसकेको छ । बाँकी खण्डमा भने ट्रेन्चिङ र डक्टिङ कार्य भइरहेको छ ।

नेटवर्कमार्फत पहाडी जिल्लाहरु भोजपुर, संखुवासभा, खोटाङ, रामेछाप, दोलखा, मुस्ताङ, दैलेख, डडेलधुरा, डोटी, अछाम र बैतडी लगायतका जिल्लाहरु आवद्ध हुनेछन । यसबाट हाल सञ्चालनमा रहेका ३८ एक्सचेन्ज, ३४ बीटीएस र १९ रिपिटरहरुमा अप्टिकल फाइबर जोडिने छन् ।

हाल सम्म नेपाल टेलिकमले कुल ५७ वटा जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिसकेको छ । चालु आयोजना सम्पन्न हुँदा कुल ६४ जिल्ला सदरमुकाममा नेटवर्क विस्तार कार्य सम्पन्न गर्नेछ । देशको ७७ जिल्ला सदरमुकाममा नेटवर्क विस्तार गर्ने लक्ष्य पूरा गर्न बाँकी रहेका थप १३ जिल्लामा हाल सर्भे कार्य प्रारम्भ भइसकेको छ ।

कम्पनीले यस अघि नै विभिन्न चरणमा पाल्पा, पर्वत, बागलुङ, उदयपुर, सुर्खेत, धनकुटा, तेह्रथुम, सल्यान लगायतका २२ जिल्ला सदरमुकाममा नेटवर्क जोड्ने कार्य सम्पन्न गरिसकेको छ ।

नेटवर्क विस्तार भए पछि कम्पनीको भ्वाइस र डाटा सेवा अझ गुणस्तरीय हुने कम्पनीले दाबी गरेको छ । कम्पनीको ब्याकबोन प्रसारण निर्देशनालय, अप्टिकल आयोजना कार्यान्वयन विभागले यो योजनालाई अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL