Logo

काठमाडौंमा निशुल्क वाईफाइको लागि लेआउटको काम सकियो, २ महिनाभित्र सेवा

काठमाडौंमा निशुल्क वाईफाइको लागि लेआउटको काम सकियो, २ महिनाभित्र सेवा



काठमाडौं । काठमाडौंका ६ स्थानमध्ये ३ स्थानको फ्री वाइफाइ जडान गर्नको लागि लेआउट डिजाइनको काम सकिएको छ । काठमाडौं महानगरपालिका र वल्र्डलिङकको सहकार्यमा काठमाडौंका ६ ओटा स्थानमा राख्ने भनिएको फ्री वाइफाइको ३ स्थानमा लेआउटको काम सकिएको कामपाले जानकारी दिएको छ ।

कामपाले सो कार्यका लागि केहिदिन अघि इन्टरनेट सेवा प्रदायकसँग ६० दिनभित्र वाइफाइको कार्य सम्पन्न गरिसक्नुपर्ने गरी सम्झौता गरेको थियो । हाल द्वूत गतिमा काम भइरहेको र अबको २ महिनाभित्र संचालनमा ल्याइने कामनपाका सुचना प्रविधि महाशाखा प्रमुख धुर्ब काफ्लेले जानकारी दिए ।

उनका अनुसार कम्पनीले हालसम्म शंखपार्क, हनुमानढोका र स्वयम्भुको लेआउट डिजाइन गरिसकेको छ । सो लेआउट डिजाइनअनुसारको सामान मगाउने कार्य पनि गरिसकेको उनले बताए । ‘लेआउट डिजाइन अन्तरगत सो स्थानमा राउटर कस्तो राख्ने, पोल कता गाडने, सुरक्षा चुनौती कस्तो अपनाउने लगायतका कुरा पर्दछन,’ उनले भने, ‘लेआउट डिजाइनको रिपोर्ट आइसकेको छ । सो अनुसारको सामान मगाउने काम पनि गरिसकिएको छ ।’ तसर्थ अबको २ महिनामा वाइफाइ चलाउन पाइने निश्चित भएको उनको दावी थियो ।

यसका साथै कम्पनीले केहिदिनमै सो स्थानहरुमा अप्टिकल फाइवर विछ्याउने काम शुरु गर्ने छ । निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउनका लागि इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड्लिङक र कामनपाबीच सम्झौता भएको थियो । सम्झौतापत्र अनुसार कम्पनीले ६० दिनमा काठमाडौंका विभिन्न ६ स्थानमा इन्टरनेट जडान गरिसक्नुपर्ने छ । सम्झौता अनुरुप उपत्यकाका वसन्तपुर, बौद्ध, संखपार्क, स्वयम्भु, वालाजु वाइसधारा तथा पशुपति क्षेत्रमा वाइफाइ सेवा जडान गर्ने भएको हो । ति स्थानहरुमा १० एमविपिएसको इन्टरनेट सेवा जडान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL