Logo

नेपाल टेलिकमको दशौं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ प्रतिशत लाभांश वितरण गरिने

नेपाल टेलिकमको दशौं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ प्रतिशत लाभांश वितरण गरिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आईतबार आफ्नो दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

उक्त साधारणसभाका माध्यमबाट कम्पनीले आर्थिक वर्ष २०७३।७४ को मुनाफा रकम मध्येबाट ५५ प्रतिशत शेयरका दरले शेयर धनीहरुलाई नगद लाभांश वितरण गर्ने तथा कम्पनीको नियमावली संशोधन लगायतका विभिन्न प्रस्तावहरु सर्वसम्मतले पारित गरेको छ ।

त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न सो साधारण सभामा ९१ प्रतिशतभन्दा बढी शेयरधनीहरुको उपस्थिति रहेको थियो ।

सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको २०७४ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आर्थिक वर्ष २०७३/७४ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरणलाई छलफल गरी सर्वसम्मतले पारित गरेको हो ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐन २०६३ को प्रावधान अनुरुप आर्थिक वर्ष २०७४÷७५ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्ट सुवोधकुमार कर्ण र अच्युतराज जोशीलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै उनीहरुको पारिश्रमिक पनि पारित गरेको छ ।

साधारण सभाले सर्वसाधारण शेयरधनी मध्येबाट निर्वाचित हुने सञ्चालकको कार्यकाल ३ वर्ष वा नियुक्ति भएको मिति देखि तीन वटा साधारण सभा बस्ने मिति मध्ये जुन पहिलो हुन्छ, सो मितिसम्म मात्र हुने व्यवस्था गरेको छ ।

कम्पनीको सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार हिस्सालाई मजबुत गर्न तथा व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनी निरन्तर सेवाको विस्तारमा रहेको बताए ।

उनले आगामी दिनमा कम्पनी सेवा र लगानी विस्तार, सेवाको व्यावसायिकरण तथा प्रतिस्पर्धात्मक भावनाका साथ अगाडि बढ्ने बताए ।

यसका लागि कम्पनी फोरजी, अप्टिकल फाइबर, माइक्रोवेभ लिंक, रणनीतिक साझेदार आदि क्षेत्रमा विभिन्न योजना निर्माणका साथ अगाडि बढिरहेको बताए ।

उनले आगामी दिनमा शेयर धनीहरुलाई अझ बढी प्रतिफल दिने उद्देश्यका साथ कम्पनीलाई अगाडि बढाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

शेयरधनीहरुलाई लाभांश रकम आगामी माघ २ गते देखि उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो लाभांश रकम अहिले सम्म वितरण गरिएको लाभांश रकम मध्ये सवैभन्दा बढी भएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL