Logo

सगुनको मिनि आइपिओबाट ३२ करोड भन्दा बढी संकलन

सगुनको मिनि आइपिओबाट ३२ करोड भन्दा बढी संकलन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सामाजिक संजाल सगुनले मिनी आइपिओबाट हालसम्म ३२ लाख अमेरिकी डलर अर्थात करिव ३२ करोड रुपैयाँ संकलन गरेको छ । सगुनले हालसम्म सो बराबरको रकम संकलन गरेको हो ।

नोभेम्बर ३० तारिख सम्मका लागि शेयर खुल्ला रहेकोले दैनिक शेयर लगानी थपिने क्रम बढ्दो रहेको सगुनका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले बताए ।

सगुनमा विदेशमा बस्ने नेपालीहरुले लगानी गरेर यसका उत्पादन र सेवा विस्तारमा हिस्सा लिएको उनले जानकारी दिए । फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालले प्रयोगकर्तालाई कनेक्ट र शेयरको मौका दिएका छन्। सगुनको नारा – कनेक्ट–शेयर–अर्न अनुसार सगुनले आफ्ना प्रयोगकर्तालाई ‘अर्न’ अर्थात कमाइ गर्ने अवसर समेत थप्न लागेको बताएको छ ।

हाल सगुनका १० लाख बढी प्रयोगकर्ता छन्। संख्यात्मक र गुणात्मक रुपमा सगुनका प्रयोगकर्ता बढाउन हाम्रो मुख्य ध्यान रहने संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत गिरीले बताए ।

यसैबीच सगुनको मोवाइल एप आगामी महिना सार्वजनिक गर्ने भएको छ । त्यस्तै सोसल स्मार्ट कार्डको लागि समेत काम भैरहेको छ।
गुगल, आइबिएम, पेटिएम, जोम्याट जस्ता कम्पनीमा काम गरिसकेका अनुभवीसहित ४० भन्दा बढी कर्मचारी सगुनमा कार्यरत छन्। उनीहरु मोवाईल एप र सोसल स्मार्ट कार्डलाई अन्तिम रुप दिन प्रयासरत छन्।

सगुनलाई प्राप्त भएको लगानी, विश्वास र उत्प्रेरणाले निकै उत्साही भएको गिरीले जानकारी दिए ।

विश्वभरका उपभोक्ताहरुको चासो र आवश्यकता सम्बोधन गर्ने उत्कृष्ट प्लेटफर्म बनाउन मेहनत गरिरहेको बताए । ‘आम प्रयोगकर्तालाई आपसमा जोड्ने मात्रै हैन लगानी भएको समयबाट आम्दानी पनि गर्न सक्ने सामाजिक इकमर्स साइटको रुपमा सगुन उत्कृष्ट ठहरिनेछ’ उनले भने ।

सगुनको प्राविधिक टिम विश्वभरका उपभोक्ताको खाँचो पूरा गर्ने र सबैको मन जित्ने तयारीमा रहेको समेत उनले बताए । अमेरिकी कानुन ए प्लस अन्तर्गत नियामक निकायको अनुमतिमा सगुनले सन् २०१७ को सुरुआतमा प्रतिशेयर २३ डलरका दरले ३०० मा साधारण सेयर निस्कासन सुरु गरेको थियो। अहिले खुलेको दोस्रो चरणमा भने कम्तिमा १ हजार डलर लगानीको प्रावधान राखिएको छ। जसमा करिव ४३ किक्ता शेयर खरिदकर्ताले पाउनेछन् ।

लगानीकर्ताले बार्षिक आम्दानीको १० प्रतिशतसम्म लगानी गर्न सक्नेछन ।पहिलो चरणमा विश्वभरबाट २ हजार बढी लगानीकर्ताले शेयरमा लगानी गरेका थिए। अहिले खुलेको दोस्रो चरणमा अमेरिकन कम्पनीमा लगानी गर्न पाउने देशहरुबाट यही नोभेम्बर ३० तारिखसम्म लगानी खुल्ला रहने छ।

सगुनका प्रयोगकर्ताले स्ट्याटस पोस्ट गर्दा, म्यासेज गर्दा वा पोस्ट शेयर गर्दा आर्थिक लाभ लिन सक्ने बताएको छ । त्यसका लागि सोसल स्मार्ट कार्ड सार्वजनिक गर्ने तयारीमा सगुन जुटेको छ।आफ्नो कामाईको केही हिस्सा आफ्ना प्रयोगकर्तालाई बाँड्ने सगुनको योजना रहेको छ। प्रयोगकर्तालाई लाभांश बाँड्ने योजनासहित आएको सामाजिक संजाल सगुन नै पहिलो हो।

सगुनले विश्वभरबाट व्यक्तिगत र संस्थागत लगानीका लागि शेयर खुल्ला गरेको छ। लगानी गर्न चाहनेहरुले आगामी नोभेम्बर ३० तारिखसम्म सगुनको वेवसाइट मा गएर क्रेडिट÷डेविड कार्डमार्फत पनि लगानी गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
MBL