Logo

दैनिक भित्रन्छ साढे पाँच करोडको मोबाइल, धेरै आयात हुनेमा सामसङ अगाडी

दैनिक भित्रन्छ साढे पाँच करोडको मोबाइल, धेरै आयात हुनेमा सामसङ अगाडी


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाली बजारमा दैनिक औषत साढे पाँच करोड रुपैयाँ बराबरका मोबाइल आयात हुने पाइएको छ । त्रिभुवन भन्सार कार्यालयले दिएको तथ्याङ्क अनुसार सन् २०१७ को ६ महिनासम्म सो रकम बराबरको मोबाइल आयात भएको हो ।

कार्यालयको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनामा मात्रै ९ अर्ब ८२ करोड रुपैयाँ बराबरका मोबाइल नेपाली बजारमा भित्रिएको छ ।

आयात भएका मोबाइल मध्य करिब आधा हिस्सा सामसङ ब्राण्डको रहेको छ । यस अवधिमा सामसङ्को मात्रै ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको मोबाइल आयात भएको कार्यालयको तथ्याङ्क छ । सो अबधिमा सामसङ ब्राण्डका ४ लाख ३६ हजार २ सय २५ थान मोबाइल भित्रिएका छन् ।

यसैगरी मूल्यको आधारमा जियोनी र ओप्पो ब्राण्डका मोबाइल दोस्रो र तेस्रो स्थानमा रहेको छ । संख्याको आधारमा भने लाभा र कलर्स मोबाइल दोस्रो र तेस्रो स्थानमा छ ।

६ महिनाको अबधिमा जियोनीले कुल ८८ करोड ८२ लाख रुपैयाँ बराबरको ८१ हजार थान मोबाइल आयात गरेको छ भने ओप्पोले तेस्रो स्थानमा रहँदै कुल साढे ७० करोड रुपैयाँ बराबरको ३९ हजार थान आयात गरेको छ ।

संख्याको हिसाबले लाभाले दोस्रो स्थानमा रहँदै ६ महिनाको अबधिमा १ लाख ९३ हजार थान मोबाइल आयात भएको छ । तर, मूल्यको हिसाबले जम्मा ६१ करोड रुपैयाँ बराबरको मोबाइल आयात गरिएको छ । यसैगरी २४ करोड ७५ लाख रुपैयाँ बराबरको १ लाख ५४ हजार ८ सय थान कलर्स मोबाइल आयात भएको छ । तर, मूल्यको आधारमा हुवावे चौथो स्थानमा रहँदै ६६ करोेड ६० लाख रुपैयाँ बराबरको ६९ हजार ५ सय थान मोबाइल आयात गरेको तथ्याङ्कले देखाएको छ ।

यस अबधिमा विश्वव्यापी चर्चामा रहेको आइफोन पनि १ हजार ७ सय थान आयात भएको छ । यसको कुल रकम १४ करोड ५८ लाख रुपैयाँ रहेको छ । यसैगरी कुलप्याड ब्राण्डको मोबाइल पनि ४ करोड ४३ लाख रुपैयाँ बराबरको ३ हजार ६ सय थान नेपाली बजारमा भित्रिएको छ ।

हाल नेपालमा झण्डै ३ दर्जन ब्राण्डका मोबाइल आयात भइरहेको तथ्याङ्क छ बढ्दै गएको डेटाको खपत र टेलिकम सेवा प्रदायकले आफ्नो सेवा विस्तार गरेसँगै पछिल्ला बर्षमा नेपालमा मोबाइलको आयातको ग्राफ बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्
MBL