Logo

टेलिकम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सेवा, एप डाउनलोड गरि गीत सुन्न सकिने

टेलिकम र म्युजिक नेपालको म्युजिक स्ट्रिमिङ सेवा, एप डाउनलोड गरि गीत सुन्न सकिने


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाल टेलिकम र म्युजिक नेपाल प्रालिको सहकार्यमा मोबाइल एप मार्फत म्युजिक स्ट्रिमिङ सेवा सञ्चालनमा ल्याएको छ । आइतबार एक कार्यक्रमबीच नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्यायले सो सेवाको शुभारम्भ गरे । उपाध्यायले नेपाल टेलिकम र संगीत उत्पादक कम्पनी म्युजिक नेपाल मिलेर नेपाली संगीतलाई केन्द्रित गरी मोबाइल एप उपलब्ध गराउन सफल भएकोमा खुशी ब्यक्त गरे ।

उनले मोबाइल प्रयोगकर्ताका बीचमा यो एप्प लोकप्रिय हुने बताए ।

त्यस्तै आगामी दिनमा यसलाई थप सुविधासहित परिमार्जित गरिने बताए । म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्माले टेलिकमका करिब १ करोड ५० लाख उपभोक्तामार्फत देशभर नेपाली संगीत उपलब्ध गराउन पाएको भन्दै टेलिकमलाई धन्यबाद दिए । साथै सहकार्यबाट संगीत क्षेत्रको आधिकारिक एप्पको रुपमा म्युजिक नेपाल एपले विश्वास जित्ने आशा व्यक्त गरे ।

कार्यक्रममा नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले म्युजिक नेपाल एप्पमार्फत संगीत प्रेमी र कलाकारलाई नेपाली संगीत प्रवद्र्धनका लागि थप प्रोत्साहित गर्न भूमिका विर्बाह गर्ने बताइन् । साथै नेपाल टेलिकमको व्यवसाय विस्तारमा समेत सघाउ पुग्ने बिचार ब्यक्त गरिन् ।

म्युजिक स्ट्रिमिङ सेवाबाट ग्राहकले एउटै प्लेटफर्ममार्फत असीमित संगीतको आनन्द लिन सक्नेछन् । ‘म्युजिक नेपाल’ मोबाइल एप डाउनलोड गरी सो मार्फत कुनै पनि विधामा अहिलेका लोकप्रिय गीतहरु मात्र नभई पुराना सदावहार नेपाली गीतहरु पनि चौविसै घण्टा सुन्न सकिने छ ।

त्यस्तै रुची अनुसारका गीतहरु छान्न, सूची बनाउन र संग्रहित गर्न पनि सकिने छ । ग्राहकले आफूले रुचाएका गीतहरु फेसबुकमार्फत साथीभाईहरुसँग सेयर गर्न पनि सक्ने बताएको छ ।

यो सेवा नेपाल टेलिकमका ग्राहकलाई एक महिनाको लागि उपभोक्ता शुल्क नलिई उपलब्ध गराइने भएको छ । एक महिना पछि भने ग्राहकले शुल्क तिरेर साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्ने टेलिकमले जानकारी दिएको छ । डाउनलोड गरेको एप खोलेर आफ्नो मोबाइल नम्बर राख्दा प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी यसको प्रयोग गर्न सकिने छ ।

मोबाइल डाटा प्रयोग गरी गीत डाउनलोड गर्दा डाटा शुल्क लाग्ने छ। हाललाई यो सेवा एन्ड्रोइड मोबाइलमा उपलब्ध हुनेछ भने छिट्टै आइओएसमा समेत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ । आगामी मंगलबार देखि यो ‘म्युजिक नेपाल एप’ आम उपभोक्ताले प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL