Logo

एनसेलले भन्यो, ‘हामीले सबै पूँजीगत लाभकर तिर्यौ’

एनसेलले भन्यो, ‘हामीले सबै पूँजीगत लाभकर तिर्यौ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनील एनसेलले आफ्नो कम्पनी खरिदबिक्री बापतको सबै पूँजीगत लाभकर तिरेको स्पष्ट पारेको छ । एनसेलले आफ्नो पूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ एएस (बिक्रीकर्ता) द्धारा गरिएको अप्रत्यक्ष बिक्री (कारोबार) सँग सम्बन्धित बिक्रेताको तर्फबाट थप कर १३ अर्ब ६० करोड ४७ लाख रुपैयाँ अग्रीम कर दाखिला गरेको हो । एनसेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ठूला करदाता कार्यलयको निर्देशन अनुसार सो रकम बुझाएको र नेपाल सरकारलाई तिर्नुपर्ने सबै दायीत्व पुरा भएको जानकारी दिएको छ ।

हालसम्म गरेको कुल अग्रीम दाखिलाको आधारमा ठूला करदाता कार्यलयले यही जेठ २१ गते एनसेललाई पत्र पठाएको थियो । पत्रमा कम्पनीले आयकर ऐन २०५८ को दफा ९५ (क) बमोजिम अग्रीम कर दाखिलाको निर्देशन पूर्णरुपमा पालना गरेको प्रमाणिकरण गर्दै पत्र पठाइको हो । यससँगै आयकर ऐन २०५८ अन्तर्गत पूँजीगत लाभकर आकर्षण गरेको उक्त कारोबारको सम्बन्धमा एनसेलले पूर्णरुपमा भुक्तानी गरेको ठूला करदाता कार्यालयले प्रमाणित गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनसेलले सँधै नेपालमा कानुनको परिपालना गरेको र आफ्नो कर दायित्वको परिपूर्तिका सम्बन्धमा प्रत्येक पटक सुशासन तथा परिपालनाको उच्च मापदण्ड अभ्यास गरेको एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बताए । ‘हामी नेपाल सरकार तथा ठूला करदाता कार्यालयले यो विषयको निराकरण तथा टुंगोमा पुर्याउनका लागि प्रदान गरेका सहयोगका लागि धन्यवाद ज्ञापन गर्दछौं,’ उनले भने, ‘यससँगै एनसेलले अब आफ्नो ध्यान लगानी तथा सेवा विस्तारमा, विशेष गरेर फोरजी विस्तारमा निर्वाद रुपमा लगाउन पाउने छ ।’ यसले नेपालको डिजीटल अर्थतन्त्रलाई फड्को मार्न सघाउने उनले जानकारी दिए ।

नेपालको दूरसञ्चार पूर्वाधार विकास तथा नेपाली नागरिकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्नका लागि कम्पनीले आक्रामक रुपमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै कम्पनी आफ्ना कर्मचारीको परिवार, डिलर, डिष्ट्रिब्युटर, व्यावसायिक साझेदार तथाविशेष गरेर आफ्ना एक करोड ५० लाखभन्दा बढी ग्राहकलाई बहु लाभ प्रदान गरिरहन प्रतिबद्ध छ ।

कम्पनी संचालनको १३ वर्ष मा सरकारलाई विभिन्न शिर्षकमा रु १ सय ६० अर्ब भन्दा बढी राजस्व योगदान पुर्याएको एनसेल देशकै सबैभन्दा ठूलो करदाताहरुमा पर्छ । एनसेलले नेपालको कुलग्राहस्थ उत्पादनमा ३ दशमलब २ प्रतिशतको योगदान पुर्याएको छ । सन् २०१६ मा कम्पनीको संचालन तथा पूँजीगत लगानी २५ अर्ब ८० करोड रुपैयाँभन्दा बढी रहेको छ । आफ्नो व्यवसाय संचालनमार्फत एनसेलले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा करिब १ लाख १० हजार रोजगारी योगदान गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL