Logo

२०२० सम्म देशभर इन्टरनेट, कर्णालीको विरामीलाई काठमाडौंबाटै उपचार

२०२० सम्म देशभर इन्टरनेट, कर्णालीको विरामीलाई काठमाडौंबाटै उपचार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले देशभर इन्टरनेट सेवा पुर्याउने तयारी थालेको छ । २०२० सम्म देशका करिव ९८ प्रतिशत भुभागमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यसहित काम अघि बढाइएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए । ‘सो कार्यका लागि ग्रामिण दूरसञ्चार बिकाश कोष (आरटिडिएफ) को १४ अर्व रुपैयाँ परिचालन गरिएको छ,’ उनले भने ।’

उनका अनुसार सो रकमलाई परिचालन गरी पाँचखालको चियाभञ्ज्याङदेखि दार्चुलाको झुलाघाटसम्म अप्टिकल फाइबर विच्छ्याउने काम अघि बढिसेको छ । नयाँ संरचनामा हरेक गाउँपालिकालाई इन्टरनेटबाट जोडिने छ । ‘प्रत्येक गाउँपलिकामा इन्टरनेट पुर्याइ वायरलेस भिडियो डाटा उपलब्ध गराउने सोच प्राधिकरणको छ,’ उनले भने, ‘यही सिलसिलामा सदरमुकामसम्म उक्त सेवा पुर्याइसकेका छौं ।’

हाल उपत्यकाबाहेक भुकम्प प्रभावित ११ जिल्लामा इन्टरनेट दिने प्रक्रिया थालेको समेत उनले जानकारी दिए । साथै विद्यालयमा इन्टरनेट दिने तथा विकट भेगका विरामीलाई काठमाडौंमा बसेर उपचार गर्नसक्ने व्यवस्था मिलाउने बताए । जस अनुसार विकट क्षेत्रमा रहेका ‘अहेव’ लाई डाक्टरले इन्टरनेटबाटै जानकारी दिएर उपचार गर्न मिल्ने व्यवस्था कार्यान्वयनमा ल्याइने छ ।

त्यस्तै रुकुम, मुगु, कालिकोट, हुम्लालगायत कर्णालीका ८ जिल्लामा इन्टरनेट सेवा पुर्याउने काम अघि बढाइएको उनले बताए । बुधबार बिश्व सूचना तथा प्रविधि समाज दिवसका अवसरमा सञ्चार मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

सो अवसरमा उनले भुकम्पमा ७२ घण्टा स्याटालाइट फोन ‘रिलिफ’का लागि आइटियुले उपलब्ध गराएको स्मरण गर्दै धन्यबाद दिए ।

सो अबसरमा आइटियुका महासचिव हउलिन झाओले ‘डाटा फर बिग इम्प्याक्ट’ नारासहित सूचना प्रविधि दिवस मनाइएको बताए ।
कार्यक्रममा सूचना मन्त्रालयका सचिव किशोरजंग कार्कीले कमन डाटाको नियमन बारे सोच्न पर्ने अवस्था आएको बताए ।

यसैगरी प्राधिकरणका कन्सल्ट्यान्ट हिमाल ओझाले विग डाटा सम्वन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले डाटाको फाइदाहरुको बारेमा जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL