Logo

प्राधिकरण र टेलिकमबीच सम्झौता, भुकम्प प्रभावित जिल्लामा निशुल्क इन्टरनेट

प्राधिकरण र टेलिकमबीच सम्झौता, भुकम्प प्रभावित जिल्लामा निशुल्क इन्टरनेट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । भुकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउन नेपाल दुरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरीे भुकम्प प्रभावित जिल्लामा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार टेलिकमले भूकम्पबाट अति प्रभावित जिल्लामध्ये काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लामा सो सेवा प्रदान गर्ने भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै ती जिल्लाका नगरपालिका, गाउपालिका, स्वास्थ्य चौकीजस्ता निकायमा निशुल्क इन्टरेनट सेवा प्रदान गरिने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले बताइन् । ‘हामीले पहिलो चरणमा सो जिल्लाका सबै निकायमा इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य अनुरुप प्राधिकरणसँग सम्झौता गरेका हौं,’ उनले भनिन्, ‘केही समयभित्रै भुकम्प प्रभावित अन्य जिल्लामा पनि जाने छौं ।’ उनका अनुसार उपभोक्ताहरुलाई यो सेवा २ वर्षसम्म निःशुल्क उपलब्ध गराइने छ । यस आयोजनाको कुल लागत करिव २१ करोड १६ लाख रुपैयाँ रहेको छ ।

सो अवसरमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले ग्रामीण दूरसञ्चार विकास कोषको रकम पनि सदुपयोग गरी भूकम्प प्रभावित जिल्लाहरुमा दु्रत गतिको इन्टरनेट सेवा पुर्याने उद्देश्यले नेपाल टेलिकमसँग सम्झौता गरिएको बताए । ‘ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गतका आयोजनामा नेपाल टेलिकम सहभागी भएको छ,’ उनले भने, ‘भविष्यमा पनि यस्ता आयोजना सञ्चालन गर्न कम्पनीको सहभागिताको अपेक्षा गरेका छौं ।’

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीलाई विश्वास गरेर दोश्रो आयोजना कार्यान्वयन गर्न दिए अनुरुप यसलाई उच्च प्राथमिकता दिएर समयमै आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘आयोजना सञ्चालन गरिने जिल्लाहरुमा विस्तृत अध्ययन भईसकेको छ,’ उनले भनिन्, ‘ती स्थानहरुमा जिएसएम, सिडिएमए, एडिएसएल र वाइम्याक्स मध्ये स्थानअनुसार जुन प्रविधिबाट सम्भव हुन्छ सोही प्रविधिबाट द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।’

यस आयोजना अन्तर्गत नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका सरकारी एवं सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्र, आर्युवेद केन्द्र, वडा कार्यालय, गाउँपालिका र नगरपालिहरुमा दु्रत गतिको इन्टरनेट सेवा उपलब्ध गराउनेछ । साथै सो सेवाको सञ्चालन तथा मर्मत कार्यमा पनि कम्पनीले नै गर्नेछ ।

भूकम्पले अति प्रभावित चार जिल्लामध्ये काभ्रेपलाञ्चोकका गाउँपालिका तथा नगरपालिकाका ८० स्थानमा, १ सय १८ वटा सरकारी तथा सामुदायिक विद्यालयमा र ६९ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा सेवा उपलब्ध गराइने छ । यसैगरी सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाका ७० स्थानमा, ८२ वटा सरकारी तथा ससामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्रमा सो सेवा दिइने छ ।

नुवाकोटका गाउँपालिका तथा नगरपालिकाका ६२ स्थानमा, ९५ वटा सरकारी तथा सामुदायिक विद्यालय र ६१ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्र तथा रसुवाका गाउँपालिका तथा नगरपालिकाका १८ स्थानमा, १६ वटा सरकारी तथा सामुदायिक विद्यालय र १५ वटा स्वास्थ्य एवं आयुर्वेद केन्द्र गरी जम्मा ७ सय ४७ सेवा केन्द्रमा यो सेवा उपलब्ध गराइने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL