Logo

बैशाख १५ देखि केवल टिभीमा नयाँ व्यवस्था, नियमनका लागि छुट्टै विभाग गठन

बैशाख १५ देखि केवल टिभीमा नयाँ व्यवस्था, नियमनका लागि छुट्टै विभाग गठन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आगामी बैशाख १५ देखि राजधानीमा एनालग टेलिभिजन डिजिटलाइजेशनको प्रक्रिया शुरु हुने भएको छ । बैशाख १५ देखि पहिलो चरणमा काठमाडौं, ललितपुर, पोखरा तथा विराटनगरमा एनालग टेलिभिजनलाई डिजिटल प्रणालीमा लैजान लागिएको हो ।

तर अहिले हल्ला चलेजस्तो सोही दिनदेखि एनालग टेलिभिजन भने पुरै बन्द भने नहुने सम्वन्धित विज्ञहरुले बताएका छन् । बिहीवार काठमाडौंमा प्रविधि पत्रकार मञ्चले आयोजना गरेको ‘डिजिटलाइजिङ टेलिभिजन’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । त्यस्तै डिजिटल प्रणालीमा गएसँगै घरमा भएको एनालग टिभी काम नलाग्ने भन्ने कुरा पनि भ्रम मात्र रहेको सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । सो अवसरमा उनले पुरानो टेलिभिजनमा पनि सेट टप वक्स राखेर डिजिटल प्रविधिमा टिभी हेर्न सकिने बताए ।

कार्यक्रममा उनले हाल केवल प्रसारण व्यवसाय पारदर्शी नभएको भन्दै पारदर्शी बनाउन डिजिटलाइजेसनमा जान लागेको जानकारी दिए । हाल मन्त्रालयसँग टिभि प्रयोगकर्ताहरुको सही तथ्यांक छैन । करिव ६० लाख भन्दा बढी टिभी प्रयोगकर्ता भएकोमा सम्वन्धित व्यवसायीहरुसँग २५ लाख मात्र डाटा भएको उनले बताए । डिजिटल प्रणालीमा गएपछि उनीहरुको सहि तथ्यांक आउछ । त्यस्तै ग्राहलाई केवल वितरकले दिने सेवा सुविधा, उनीहरुको आम्दानी तथा ग्राहकको संख्याको समेत विवरण हुन्छ । जसले गर्दा सरकारको राजस्वमा बृद्धि हुन्छ ।

डिजिटल प्रविधि किन ?

डिजिटल टेलिभिजनमा सेवाग्राहीले उही मूल्यमा सफा श्रव्य दृष्यसहितको टिभी हेर्न सक्नेछन् । त्यस्तै आफ्नो आवश्यकता तथा इच्छा अनुसारको च्यानलमात्र हेर्न सक्ने नेपाल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष सुधिर पराजुलीले जानकारी दिए । आफुले नहेर्ने च्यानलको पैसा तिर्नुपर्ने छैन । त्यसैगरी आफुलाई मन परेको कार्यक्रम रेकर्ड गरेर फुर्सदको समयमा हेर्न पनि सकिने छ ।

सामान्य टेलिभिजनमा समेत गुणस्तरिय दृष्य हेर्न र अडियो सुन्न पाउनु यसको सबैभन्दा विशेषता हो । यस प्रविधिमा अनलाइन प्रयोगबाट टिभीबाटै म्यासेज आदान प्रदान, युट्यूव लगायतबाट अनलाइन च्यानल हेर्न, अनलाइन गेम्स, अनलाइन सपिङ लगायतका कार्य गर्न सकिन्छ । रेडियो र टेलिभिजन अनुगमन गर्न छुट्टै निकायको आवश्यकता भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले टेलिभिजन र रेडियो सञ्चालनको अनुमति तथा नियमनका लागि छुट्टै निकायको आवश्यकता भएको बताए। सो अवसरमा उनले टिभी र रेडियो सञ्चालनको अनुमति तथा नियमन मन्त्रालयबाट गर्न सम्भव नभएको भन्दै अधिकार प्राप्त निकाय गठन गर्नुपर्ने बताएका हुन् । साथै नियमनका लागि मन्त्रालय अन्तर्गत छुट्टै विभाग बनाउन पहल गर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL