Logo

प्रिपेड ग्राहकलाई माघ २२ देखि फोरजी, बार्षिकोत्सवमा टेलिकमको सेवामा विशेष छुट

प्रिपेड ग्राहकलाई माघ २२ देखि फोरजी, बार्षिकोत्सवमा टेलिकमको सेवामा विशेष छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल टेलिकमका प्रिपेड सिम प्रयोगकर्ताले पनि चाँडैनै फोरजी सेवा लिन पाउने भएका छन् । टेलिकमले माघ २२ गतेदेखि प्रिपेड ग्राहकलाई फोरजी सेवा दिने तयारी गरेको टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

उनका अनुसार टेलिकमले फोरजी संचालन सम्बन्धी सम्पूर्ण तयारी पुरा भइसकेको छ । टेलिकमले पहिलो चरणमा काठमाडौं उपत्यका, मुलपानी, बुढानिलकण्ठलगायत क्षेत्रमा फोरजी उपलब्ध गराउने छ । त्यस्तै उपत्यका बाहिर पोखराका महेन्द्रपुल, लेकसाइड तथा न्यूरोड क्षेत्रका प्रिपेड ग्राहकलाई फोरजी सेवा दिने अधिकारीले जानकारी दिए ।

हाल टेलिकमले काठमाडौं तथा पोखराका केही क्षेत्रमा पोष्टपेडमा फोरजी सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै निकट भविष्यमा आफ्नो सेवालाई अन्य क्षेत्रमा पनि विस्तार गर्ने भएको छ । जसअनुसार फोरजी उपलव्ध गराउने क्षेत्र बढाउन टेन्डरको तयारी भइरहेको अधिकारीले जानकारी दिए । ‘फोरजीलाई शुरुमा देशका प्रमुख शहरी क्षेत्र र विस्तारै देशभर लैजाने गरी तयारी गरेका छौं,’ उनले भने । उनका अनुसार टेलिकमले १५ ओटा महानगर र उपमहानगरपालिकामा फोरजी सेवा उपलब्ध गराउने लक्ष्य अनुसार अघि बढेको छ ।

त्यस्तै टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणसँग ५ मेगाहर्ज समेत माग गरेको छ । हाल ५ मेगाहर्जमा फोरजी सञ्चालन गरेकोमा ५ मेगाहर्ज थप गर्न लागेको हो ।

टेलिकमले ३ लाख ५० हजार ग्राहकलाई फोरजी सेवा उपलब्ध गराउने लक्ष्य राखेपनि तत्कालका लागि १ लाख ६२ हजार ग्राहकले मात्र चलाउन सक्ने एक अध्ययन ले देखाएको छ । सिमकार्ड वितरणका आधारमा साढे ३ लाखले फोरजी सेवा प्रयोग गर्न सक्ने भएपनि त्यस्तो सेवा सपोर्ट गर्ने मोवाइल सेट छैन । अध्ययन अनुसार काठमाडौंमा १ लाख ५० हजार र पोखरामा २२ हजार जनाले मात्र फोरजी सेवा लिन सक्नेछन् ।
टेलिकमले फोरजी सञ्चालनका लागि ३ सय ८ ओटा विटिएस टावर थप गरेको थियो । त्यस्तै काठमाडौंमा ७९ ओटा विटिएस टावर थप गर्ने तयारी गरिएको अधिकारीले जानकारी दिए ।

बार्षिकोत्सवमा सेवाग्राहीलाई छुटैछुट

टेलिकमले आफ्नो बार्षिकोत्सवको अवसरमा विभिन्न छुट योजना समेत ल्याउने तयारी थालेको छ । टेलिकमले आफ्नो सवै प्रकारका सेवामा छुट तथा उपहार योजना सञ्चालन गर्न लागेको हो । ‘विगतमा पनि हामीले बार्षिकोत्सवमा छुट दिँदै आएका थियौं,’ उनले भने, ‘हाल त्यही परम्परालाई निरन्तरता दिन लागेका हौं ।’ जस अनुसार टेलिकमले प्रिपेड, पोष्टपेडलगायत सवै सेवामा छुट दिनेछ भने प्रिपेड ग्राहकलाई फोरजी सेवामा समेत विशेष छुट दिने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL